नयाँदिल्ली, माघ २१ गते । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सामानमा अमेरिकी आयात शुल्क घटाउने सम्झौताको स्वागत गर्नु भएको छ, तर विपक्षी सांसदले कृषि र संवेदनशील क्षेत्रमा पर्न सक्ने असरबारे प्रश्न उठाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार भारतमा रुसी तेल खरिद घटाउने वा रोक्ने सर्तमा आयात शुल्क घटाउने योजना घोषणा गर्नुभएको हो । यसअनुसार भारतले अमेरिकी सामानमा आयात कर शून्यमा झार्ने र पाँच खर्ब अमेरिकी डलर मूल्यको उत्पादन किन्न सुरु गर्ने व्यवस्था हुने छ । मोदीले कर कटौतीबाट आफू खुसी भएको र ट्रम्पको नेतृत्वलाई विश्वव्यापी शान्ति, स्थिरता र समृद्धिका लागि महत्त्वपूर्ण भएको प्रतिक्रिया दिनुभएको छ ।
अमेरिकी दूतावासका प्रवक्ताले भारतमा अन्तिम आयात शुल्क १८ प्रतिशत हुने पुष्टि गर्नुभएको छ । यसले भारतीय निर्यातकलाई ५० प्रतिशतसम्मको संयुक्त करको प्रभावबाट राहत दिने अपेक्षा गरिएको छ । विपक्षी राजनीतिक दलले सम्झौतामा कृषि र दुग्ध जस्ता संवेदनशील क्षेत्रको सुरक्षा सुनिश्चित हुनुपर्ने भन्दै तल्लो सदनको कारबाही रोकेका छन् ।
अमेरिकी कृषिमन्त्री ब्रुकर रोलिङ्सले सम्झौताले अमेरिकी किसानलाई भारतमा निर्यात बढाउन, मूल्य उचाल्न र ग्रामीण क्षेत्रमा नगद प्रवाह गर्न मद्दत गर्ने बताउनुभएको छ । सन् २०२४ मा भारतसँगको अमेरिकी कृषि व्यापार घाटा एक अर्ब ३० करोड डलर थियो । भारतीय व्यापारमन्त्री पियुष गोयलले संवेदनशील क्षेत्र सम्झौतामा सुरक्षित गरिएको र भारतले उत्कृष्ट सम्झौता पाएको बताउनुभयो ।
उहाँले जनतालाई आश्वस्त पार्दै सम्झौताले हरेक भारतीयको हितसँगै कृषि र अन्य संवेदनशील क्षेत्रको सुरक्षा पनि सुनिश्चित गर्ने बताउनुभयो । विश्लेषकले समय सीमा, कभर हुने उत्पादन र संवेदनशील क्षेत्रको सुरक्षा स्पष्ट नभएसम्म उत्सव मनाउन हतार नगर्न चेतावनी दिएका छन् । अमेरिकी सामानको पाँच खर्ब डलर आयातमा पुग्न हालको दरमा कम्तीमा दुई दशक लाग्ने अनुमान गरिएको छ ।
यस सम्झौताले भारत र अमेरिकी बजारबिचको व्यापार विस्तार गर्ने मात्र नभई श्रम-गहन, निर्माण र उच्च प्रविधि क्षेत्रमा पारस्परिक लाभदायक अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । विशेषज्ञले संवेदनशील क्षेत्रको संरक्षणबिना हतारमा सम्झौतामा प्रवेश गर्नु जोखिमपूर्ण हुने बताएका छन् ।
मोदी र ट्रम्पबिचको यो सम्झौताले युक्रेन विरुद्धको युद्धका कारण रुसी तेलको निरन्तर खरिद रोक्ने पहलसँग सम्बन्धित रहेको बताइएको छ । ट्रम्पले एक्स प्लेटफर्ममा लेख्नु भएको छ, “यसले युक्रेनमा युद्ध समाप्त गर्न मद्दत गर्ने छ, जहाँ प्रत्येक हप्ता हजारौँ मानिसको मृत्यु भइरहेको छ ।” रासस/एपी