• २१ माघ २०८२, बुधबार

बागलुङमा एक सय १५ थान हतियार बरामद

blog

प्रहरीले बरामद गरिएका अवैध हतियार ।

रामकृष्ण बोहरा

बागलुङ, माघ २१ गते । निर्वाचननजिक आइरहेको बेला जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध हतियार बरामद अभियान थालेको छ । पछिल्लो ४० दिनमा प्रहरीले एक सय १५ थान अवैध भरुवा बन्दुक बरामद गरेको हो । 

चुनावको सुरक्षा तथा अवैध हतियार मुक्त समाज बनाउने अभियान स्वरूप थालिएको अभियानमा इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट ६६ नाल भरुवा बन्दुक, इलाका प्रहरी कार्यालय गलकोटबाट ४५ थान र इलाका प्रहरी कार्यालय बरेङडाँडाबाट ४ वटा हतियार बरामद भएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । 

बरामद भएका हतियार ग्रामीण क्षेत्रको जङ्गल, ओडार लगायतका स्थानमा भेटिएको प्रहरीको भनाइ छ । यतिधेरै हतियार बरामद गर्दा प्रहरीले एक जना पनि अभियुक्त भने पक्राउ गरेको छैन । सर्च र अपरेसन अभियान थालेपछि सबै हतियार जङ्गल छेउछाउ, खोंचहरूमा भेटाएको भन्दै प्रहरी उपरीक्षक भारतीले अझै थप खोजी भइरहेको बताउनुभयो । 

बरामद भएका अधिकांश घरेलु रूपमा बनाइएका हतियार भए पनि सबैजसो नियमित प्रयोगमा आएको हतियार भएको प्रहरी उपरीक्षक भारतीले बताउनुभयो । बन्दुक बरामद गर्दा त्यसको म्यागेजिन लगायतका खरखजाना बरामद भएको छैन ।

बरामद भएका हतियारलाई प्रहरीले सुरक्षित रूपमा जिल्ला प्रहरी कार्यालयमा राखेको छ भने हरेक हतियार प्रयोगकर्ता पक्राउ पर्न सक्ने भएकाले अनुसन्धानको पाटो पनि अगाडि बढाएको जानकारी दिनुभयो । 

निर्वाचननजिक आइरहेको बेला प्रहरीले वैध हतियार प्रहरीमा बुझाउन सूचना प्रकाशित समेत गरेको छ । सूचना अनुसार अहिलेसम्म १९ थान बन्दुक सम्बन्धित लाइसेन्सवालाले प्रहरीमा बुझाएका छन् । सो अभियानकै क्रममा अवैध हतियार पनि भेटिएको हो । 

प्रहरीले अझ धेरै अवैध हतियार भेटिन सक्ने आशङ्कामा खोजी अभियान जारी राखेको छ । ‘शङ्कास्पद क्षेत्र र मानिसको तलासी लिने काम भइरहेको छ’ इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक तिलक मानन्धरले भन्नुभयो, ‘निर्वाचन सुरक्षाका लागि पनि यो अभियान निरन्तर रहने छ ।’ आसन्न निर्वाचनमा सुरक्षा प्रदान गर्ने जिम्मेवारी पूरा गर्न यो अभियानलाई निरन्तरता दिने मानन्धरले बताउनुभयो ।