• २१ माघ २०८२, बुधबार

नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

blog

जोस (नाइजेरिया), माघ २१ गते । मध्यपश्चिम नाइजेरियाको क्वारा राज्यमा बन्दुकधारीले कम्तीमा ३५ जनाको हत्या गरेको अधिकारीले बुधबार बताएका छन् । मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

“आज बिहान मलाई ३५ देखि ४० जनाको शव गणना गरिएको जानकारी दिइयो”, काइमा क्षेत्रका स्थानीय सांसद साइदु बाबा अहमदले भन्नुभयो । प्रहरीले आक्रमणको पुष्टि गरेको थियो, तर हताहतको पूर्ण तथ्याङ्क सार्वजनिक भएन । राज्य सरकारले यसलाई ‘आतङ्कवादी कक्ष’ द्वारा गरिएको बताएको छ ।

“अरू धेरै जना बन्दुकको गोली लागेर झाडीमा भागेका छन्”, अहमदले भन्नुभयो । उहाँले त्यहाँ थप शवहरू फेला पर्न सक्ने बताउनुभयो । मङ्गलबार साँझ ६ बजे (१७०० जिएमटी) बन्दुकधारीले वोरो गाउँमा आक्रमण गरेका थिए र ‘पसल र राजाको दरबारमा आगो लगाए’ उहाँले बताउनुभयो । परम्परागत राजाको ठेगाना अज्ञात रहेको छ ।

क्वारा राज्यका गभर्नर अब्दुल रहमान अब्दुल रजाकले आक्रमणलाई ‘राज्यका केही भागमा चलिरहेको आतङ्कवाद विरोधी अभियानपछि आतङ्कवादी सेलले देखाएको निराशाको कायरतापूर्ण अभिव्यक्ति’ भन्दै आक्रमणको निन्दा गर्नुभयो । नाइजेरियाली सेनाले जिहादी र स्थानीय रूपमा डाकु भनेर चिनिने सशस्त्र समूहविरुद्ध कारबाही बढाएको छ । 

सेनाले नियमित रूपमा ठुलो सङ्ख्यामा लडाकू मारिएको दाबी गर्दै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा इसाईमाथि ‘नरसंहार’ भएको आरोप लगाएपछि नाइजेरिया हाल गहिरो असुरक्षाको समीक्षा अन्तर्गत छ । तर नाइजेरियाली सरकार र स्वतन्त्र विज्ञले उक्त आरोप अस्वीकार गर्दै सुरक्षा सङ्कटले इसाई र मुस्लिम दुवैलाई प्रभावित गरेको बताएका छन् । रासस/एएफपी