भवानीदत्त भट्ट
कञ्चनपुर, माघ २० गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुरबाट जेनजी उमेर समूहका चार जना उम्मेदवार चुनावी मैदानमा होमिनुभएको छ । फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि जेनजी समूहबाट दुई स्वतन्त्र तथा दुई जना पार्टीबाट उम्मेदवार बनेका छन् ।
तीन निर्वाचन क्षेत्र रहेका कञ्चनपुरको क्षेत्र नम्बर १ बाट मात्रै जेनजी उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन् । निर्वाचन क्षेत्र–१ का निर्वाचन अधिकृत दामोदर घिमिरेका अनुसार, चार जना जेनजीले उम्मेदवारी दिएका हुन् ।
जसमध्ये मितेरी पार्टी नेपालबाट २७ वर्षीय सियाराम राना उम्मेदवार हुनुहुन्छ । लालझाँडी गाउँपालिका–३ का राना जेनजी समूहबाट आगामी निर्वाचनमा होमिनुभएको हो । जेनजी युवाहरू पछाडि परेको र उनीहरूको मागलाई संसदमा उठाउन आफुले उम्मेदवारी दिएको उहाँले बताउनुभयो । जेनजी युवाहरूको साथ र सहयोगले आगामी निर्वाचनमा होमिएको उहाँ बताउनुहुन्छ ।
त्यसैगरी, संयुक्त नागरिक पार्टीबाट २७ वर्षीय दानियल विश्वकर्मा उम्मेदवार बन्नुभएको छ । कैलालीको गोदावरी नगरपालिका ३ घर भएका जेनजी समूहका विश्वकर्मा कञ्चनपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्नुभएको हो ।
त्यसैगरी, पूनर्वास नगरपालिका–१ का २७ वर्षीय यादव सिंह आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । जेनजी समूहका उहाँ पहिलो पटक निर्वाचनमा होमिनुभएको हो । जेनजी उम्मेदवार सिह विगत एक सातादेखि पैदल यात्रा गरिरहनुभएको छ ।
यहाँका जनताका समस्याहरू झोलामा बोकेर पूनर्वास, बेलौरी हुँदै बेलडाँडी सम्मको हुलाकी सडकमा पैदल यात्रा गरेको उहाँले बताउनुभयो । क्षेत्र–१ का जनताको आगामी भविष्य निर्धारण गर्ने सङ्कल्पका साथ चुनावमा होमिएको बताउनुहुँदै उहाँले यस क्षेत्रका मतदाताको सकारात्मक प्रतिक्रियाका कारण मनोबल बढ्दै गएको उहाँ बताउनुहुन्छ ।
त्यस्तै, शुक्लाफाँटा नगरपालिका–४ असैनाका २७ वर्षीय अनिल राना पनि स्वतन्त्रबाट उम्मेदवारी दिएर चुनावमा होमिनुभएको छ । जेनजी समूहका उम्मेदवार रानाले जेनजी आन्दोलनपछि हुन लागेको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेको बताउनुभयो ।
राना थारुको बाहुल्य समुदायको क्षेत्र भएकाले यहाँको सीमा विवाद, लागुऔषधको रोकथाम, जेनजीको सुशासन र पार्दशीता कायम गराउन, शिक्षा स्वास्थ्यमा आमूल परिवर्तन लगायत, युवाहरूको स्वरोजगारका विषयलाई प्राथमिकता लगायतका एजेन्डा बोकेर उहाँ चुनावी मैदानमा होमिनुभएको छ ।
तीन निर्वाचन क्षेत्र रहेका कञ्चनपुरमा ६० वर्ष माथिका भने सात जना चुनावी मैदानमा होमिनुभएको छ । कञ्चनपुर क्षेत्र–१ मा नेपाल किसान मजदुर पार्टीबाट ६५ वर्षीय कटक बहादुर साही र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ६४ वर्षीय दिल्ली बहादुर साही उम्मेदवार हुनुहुन्छ ।
क्षेत्र २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ७१ वर्षीय तीर्थ राज चटौत र नेपाल मजदुर किसान पार्टीबाट ६० वर्षीय सिताराम राना उम्मेदवार बन्नुभएको छ । त्यसैगरी, क्षेत्र ३ मा नेपाली कम्युनिस्ट पार्टीबाट ७० वर्षीय मानबहादुर सुनार, श्रम संस्कृति पार्टीबाट ६७ वर्षीय गङ्गादत्त जोशी र नेपाल मजदुर किसान पार्टीबाट ६४ वर्षीय मीनु गिरी उम्मेदवार हुनुहुन्छ ।
आगामी प्रतिनिधि सभा निर्वाचनमा जेनजी समूहका तथा ६० वर्षमाथिका उम्मेदवारहरू चुनावी मैदानमा होमिएपछि कञ्चनपुरमा रोचक प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । तीन वटै निर्वाचन क्षेत्रमा तीन जना प्रतिनिधि सभा सदस्यका लागि ५५ जना उम्मेदवार चुनावी मैदानमा होमिनुभएको हो । कञ्चनपुरमा तीन लाख १४ हजार ३८५ मतदाता हुनुहुन्छ ।