तम्घास समाचारदाता
तम्घास (गुल्मी), माघ २० गते । गुल्मीमा एक हजार ६९५ जना निर्वाचन प्रहरीमातहतका क्षेत्रमा खटिएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारूका अनुसार ती निर्वाचन प्रहरीलाई कार्यक्षेत्रको इलाकामा पठाइएको छ ।
इलाका प्रहरी कार्यालय रिडी, पुर्कोट र जिल्ला प्रहरी कार्यालयको मातहतमा रहने गरी शनिबार क्षेत्र निर्धारण गरिएको हो । उनीहरूलाई क्षेत्र निर्धारण गरिएको इलाकाबाट नै आइतबारदेखि १० दिनको तालिम प्रदान गर्ने गरी योजना बनाएको सारूले बताउनुभयो । त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।
गुल्मीमा तीन पटकसम्म आवेदन दिनका लागि जारी गरिएको सूचनाका आधारमा दुई हजार २१६ जनाले आवेदन दिएका थिए । तीमध्ये एक हजार १९ पुरुष र ६७६ जना महिलाको कोटा निर्धारण गरिएको भए पनि महिलाको आवेदन सङ्ख्या कम भएको हो । ४४९ जना महिलाको मात्रै आवेदन परेको थियो ।
निर्वाचन प्रहरीमा पूर्वसुरक्षाकर्मी, पूर्वम्यादीलाई पहिलो प्राथमिकता दिइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गुल्मीका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जिल्लामा भयरहित वातावरणमा निर्वाचन सफल बनाउनका लागि सुरक्षा समिति सक्षम रहेको बताउनुभयो ।
जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार जिल्लामा कुल दुई लाख २९ हजार ५४९ जना मतदाता रहेका छन् । तीमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख २२ हजार १८६ जना र निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख सात हजार ३६३ जना मतदाता रहेका छन् । जिल्लाभर १४५ वटा मतदान केन्द्र र २८४ वटा मतदान स्थल तोकिएको छ ।