• २० माघ २०८२, मङ्गलबार

निर्वाचनले पढाइ प्रभावित

blog

गत निर्वाचनमा मतदान केन्द्र रहेको वीरेन्द्रनगरको सामुदायिक विद्यालय । फाइल तस्बिर : रजनी योगी

बुलबुले समाचारदाता

सुर्खेत, माघ २० गते  । हरेक जसो निर्वाचनमा मतदान केन्द्रका रूपमा विद्यालयलाई प्रयोग गर्ने गरिन्छ । जसका कारण विद्यार्थीको नियमित पढाइ प्रभावित हुने गरेको गुनासो भइरहेको छ । सबै तहको निर्वाचनमा मतदान केन्द्र विद्यालयमा तोकिँदा वार्षिक पढाइ तालिका प्रभावित हुने गरेको सुर्खेतस्थित जन नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार विद्यालयको विकल्प खोजेर चुनाव गर्न सकिने थुप्रै आधार भए पनि सरकारले ध्यान दिन सकेको छैन । बन्द हड्ताल, पार्टीका आमसभा तथा मेला महोत्सवसमेत विद्यालयमा गरिँदा पढाइ प्रभावित बन्ने गरेको हो ।

एक दशकअघिसम्म स्थानीयस्तरमा कुनै पनि तहका निर्वाचन सम्पन्न गराउन सहज थिएन । यातायातका साधन, सडकको पहुँच, सुरक्षा व्यवस्था, खटिएका कर्मचारीको खाने बस्ने व्यवस्थालगायत मतदान स्थलको व्यवस्थापन गर्न हम्मे पथ्र्यो । जसका कारण अधिकांश मतदान केन्द्र सामुदायिक विद्यालयमा राखिन्थे तर अहिले ठुला ठुला सरकारी संरचना निर्माण गरिएका छन् तर पनि बालबालिकाको निर्वाध रूपमा पठनपाठन गर्ने अधिकारलाई वञ्चित गराउँदै विद्यालयमा नै मतदान केन्द्र राख्ने गरिएको गुनासो सरोकारवालाहरूको छ । 

जसले गर्दा आउँदै गरेको एसइई र तथा सम्पूर्ण वार्षिक परीक्षा प्रभावित बन्ने छन् । केही सरकारी भवन प्रयोगविहीन बनिरहँदा अहिले पनि खोजी खोजी विद्यालयमा मतदान केन्द्र राख्ने गरिएको छ । विद्यालयमा मतदान केन्द्र बनाइँदा पठनपाठनको वातावरण कम्तीमा एक साता बिग्रिने शिक्षकको गुनासो छ । निर्वाचनको बेला झन्डै एक साता विद्यार्थीको पठनपाठन अवरुद्ध हुने वीरेन्द्रनगरस्थित अमरज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले बताउनुभयो । थापाले विद्यालयमा मतदान स्थल कायम गर्दा दुई÷तीन दिन बिदा हुने भए पनि अरू व्यवस्थापनका कामले कम्तीमा एक साता पठनपाठन अवरुद्ध हुने गरेको जानकारी दिनुभयो । यद्यपि आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि पनि अधिकांश विद्यालयलाई मतदान स्थलको रूपमा प्रयोग गरिने भएको छ । अन्य क्षेत्रभन्दा विद्यालय नै सुरक्षित हुने गरेकाले मतदान स्थलमा विद्यालयलाई नै प्राथमिकता दिने गरिएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङका अनुसार अबका दिनमा कर्मचारीले खटनपटनमा पनि भनसुन गर्नु पर्दैन तर अन्य ठाउँमा सुरक्षाका लागि मतदान स्थलको घेराबार, अस्थायी शौचालय निर्माण, सुरक्षाकर्मीहरूको व्यवस्थापन, महिला कर्मचारीको व्यवस्थापनलगायत काम गर्नुपर्ने भएकाले विद्यालयमा नै मतदान स्थल कायम गरेका गरिएको हो । अबका चुनावमा यस्ता सवाललाई ध्यान दिएर अघि बढ्ने उहाँले बताउनुभयो । 

सकेसम्म विकल्प भएको खण्डमा विद्यालयमा मतदान केन्द्र राख्न उचित नभएको शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल) कर्णाली प्रदेश संयोजक भूपेन्द्र कँडेल बताउनुहुन्छ । आउँदा निर्वाचनमा सरकारले यस विषयमा विशेष ध्यान दिनुपर्ने उहाँले जानकारी दिनुभयो । विगतमा स्थानीय स्तरमा भरपर्दो संरचना नभएको अवस्था भए पनि अहिले वडा कार्यालयदेखि ठुला ठुला संरचना बनिसकेको अवस्थामा विद्यालय नै खोजी खोजी मतदान केन्द्र राखिनु उचित नभएको उहाँको तर्क छ । 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि थुप्रै विकल्प छन् । वडा नं. ७ मा प्रदेश सभा, वडा नं. ६ मा सभा हल, वडा नं. ८ मा प्रदेश रङ्गशाला जस्ता क्षेत्र छन्, जहाँ मतदान गराउन सकिन्छ तर ती क्षेत्रमा पनि विद्यालय नै प्रयोग गर्ने गरिएको छ । सरकारले अन्य सरकारी संरचनाको भरपुर प्रयोग गरी विद्यालयलाई शान्ति क्षेत्रका रूपमा कायम गर्न एनसिईले अपिल गरेको कँडेलले बताउनुभयो ।