• २० माघ २०८२, मङ्गलबार

थाहामा मृत अवस्थामा चितुवा फेला

blog

मृत अवस्थामा फेला परेको चितुवा । तस्बिर : अनिल पराजुली

अनिल पराजुली    
हेटौँडा, माघ २० गते ।
मकवानपुरको थाहा नगरपालिका–९ महालक्ष्मी खोला किनारामा सोमबार राति पोथी चितुवा मृत अवस्थामा फेला परेको छ । मृत अवस्थामा फेला परेको चितुवा ३९ केजी तौलको रहेको ईलाका प्रहरी कार्यालय चित्लाङका प्रहरी सहायक निरीक्षक दिननाथप्रसाद यादवले जानकारी दिनुभयो ।

चितुवाको मुखबाट रगत बगिरहेको अवस्थामा फेला परेकाले चितुवाहरु एक आपसमा जुधेर मरेको जस्तो देखिएको उहाँको प्रारम्भिक अनुमान छ । एक सय ७० सेन्टिमिटर लम्बाई भएको चितुवा करिब साढे २ वर्षदेखि ३ वर्षको जतिको हुन सक्ने अनुमान गरिएको छ ।

चितुवा मृत अवस्थामा रहेको खबर पाएपछि इलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी सहायक निरीक्षक यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । मार्गिन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सानुकाजी श्रेष्ठ, जनप्रतिनिधि र स्थानीयहरुको रोहवरमा चितुवालाई चित्लाङस्थित गोदाम चौरमा लगेर व्यवस्थापन गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो । चितुवा मृत फेला परेको स्थान इलाका प्रहरी कार्यालय चित्लाङबाट एक किलोमिटर दक्षिणमा रहेको छ ।