प्रेमराज सिम्खडा
कालीकोट, माघ १३ गते। हिमपातले अवरुद्ध पर्यटकीय क्षेत्र रारा जाने नाग्म-गमगढी सडक सञ्चालनमा आएको छ। शुक्रबार रातिदेखि भएको हिमपातले अवरुद्ध भएको नाग्म–गमगडी भुलभुलैया खण्ड चार दिनपछि सञ्चालनमा आएको हो।
सडक डिभिजन कार्यालय जुम्लाले डोजर लगाएर हिउँ हटाएपछि सडक खुल्दा रोकिएका सवारी साधन गन्तव्य तर्फ गएका छन्। नाग्म गमगडी सडक खण्डको सातमाड क्षेत्रमा डेढ फिट भन्दा धेरै हिउँ जमेको थियो। जसले साना ठूला सवारीसाधन आवतजावतमा कठिनाइ थियो। मुगु हुँदै सुर्खेत नेपालगन्ज जाने यात्रु तथा पर्यटक रोकिएका थिए।

सडक डिभिजन जुम्लाका प्रमुख श्रवण कुमार महताराले डोजरको सहयोगले हिउँ हटाएपछि सडक सुचारु भएको बताउनुभयो। भारी हिमपातले नाग्म-गमगढी सडकको झण्डै तीन किलोमिटर सडक ठप्प भएको थियो।
पाटन क्षेत्रमा पर्ने उक्त सडक खण्डमा हरेक वर्ष हिमपात हुँदा अवरुद्ध हुने गर्छ। राराबाट फर्किनुभएका कालीकोटका अमल खड्काले हिउँले सडक अवरुद्ध हुँदा तीन दिन बिचैमा रोकिनु परेको बताउनुभयो।
