आगामी निर्वाचनमा राजनीतिक दलका प्रतिस्पर्धीबिच हुन सक्ने विवाद तथा झडप, जेनजी र राजनीतिक दलबिच हुन सक्ने विवाद र खुला सिमानाका कारण उत्पन्न हुन सक्ने परिस्थितिलाई मुख्य सुरक्षा चुनौती आकलन गरेर सोही अनुसारको तयारी गरिएको छ ।
गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १३ गते । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनसँगै थप सुरक्षा सतर्कता अपनाइएको छ ।
निर्वाचनको सरगर्मी बढ्दै जाँदा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारबिच हुने चुनावी कार्यक्रम, उम्मेदवारहरूको आवतजावत र बसाइमा कुनै पनि सुरक्षा चुनौती नहोस् भनी सुरक्षा निकायको परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन सुरक्षा तयारीसँगै उम्मेदवारको सुरक्षालाई विशेष प्राथमिकतामा राखेर सुरक्षा निकायको परिचालन गरिएको बताउनुभयो । निर्वाचन सुरक्षालाई त्रुटिरहित बनाउन गृह मन्त्रालयले एकीकृत सुरक्षा योजना तयार पारी कार्यान्वयन नै गरिसकेको बताउँदै प्रवक्ता काफ्लेले भन्नुभयो, “कुनै पनि उम्मेदवारले सुरक्षाको कुनै चिन्ता नगरी निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा रहेर निर्वाचन गतिविधि सञ्चालन गर्न सक्नु हुन्छ ।”
उहाँले जुनसुकै पार्टी उम्मेदवार वा स्वतन्त्र उम्मेदवारले पनि आफ्नो सुरक्षामा शङ्का गर्नुपर्ने अवस्था नरहेको र त्यस्तो कुनै शङ्कास्पद गतिविधि देखिए तत्काल सम्बोधन गर्ने गरी सुरक्षा तैनाथी भइसकेको बताउनुभयो । निर्वाचनको समग्र सुरक्षासँगै उम्मेदवारको सुरक्षाका लागि नेपाल प्रहरीले केन्द्रदेखि जिल्ला तहसम्म निर्वाचन सेल गठन गरी सूक्ष्म निगरानी बढाएको छ । जसका लागि केन्द्रमा एक, उपत्यकामा एक, प्रदेश तहमा एक र प्रदेश प्रहरी कार्यालय तथा जिल्ला तहमा गरी ९३ वटा निर्वाचन सेल गठन भइसकेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेका अनुसार उम्मेदवार विशेष सुरक्षाका लागि जिल्ला सुरक्षा समितिमार्फत विशेष टोली नै परिचालन गरिएको बताउनुभयो ।
उम्मेदवारको सुरक्षामा कुनै पनि समस्या सिर्जना नहोस् भन्ने उद्देश्यले सम्भावित क्षेत्र र स्थानमा सादा पोसाकका प्रहरीको परिचालनसमेत भइसकेको बताउँदै प्रवक्ता काफ्लेले भन्नुभयो, “सबै उम्मेदवार सुरक्षाका लागि आवश्यक प्रहरी परिचालन गरिएको छ । कतिपय चर्चित र हेभिवेट उम्मेदवारका लागि सिनियर प्रहरीको कमान्डमा आवश्यक जनशक्ति खटाइएको छ ।”
उहाँले जुनसुकै उम्मेदवारले सुरक्षा चुनौतीको अनुभूति गरे वा शङ्कास्पद गतिविधि गरेको पाइएमा नजिकैको प्रहरीलाई खबर गरे तत्काल कारबाही अघि बढाइने पनि बताउनुभयो । निर्वाचनलाई प्रभावित गर्न र एकअर्काबिच सामाजिक सञ्जालबाट व्यक्त हुने घृणास्पद अभिव्यक्ति नियन्त्रणका लागि प्रत्येक निर्वाचन सेलमा आइटीविज्ञ प्रहरीसमेत परिचालन गरिएको छ । गृह मन्त्रालयले मुलुकको समग्र शान्ति सुरक्षालाई सुधार गर्र्न गरेका प्रयासले सार्थकता पाउँदै गएको र विगतको तुलनामा शान्ति सुरक्षा निकै सबल हुँदै गइरहेकाले आगामी निर्वाचन शान्तिपूर्ण निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न कुनै शङ्का गर्नुपर्ने स्थिति नरहेको पनि स्पष्ट पारेको छ ।
मन्त्रालयले कार्यान्वयनमा ल्याएको एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार निर्वाचनअघि, निर्वाचन अवधि र निर्वाचनपछि सुरक्षा रणनीति र तयारी भइसकेको जनाएको छ । जस अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग संयुक्त तथा छुट्टाछुट्टै रूपमा परिचालन गरिएको छ ।
मन्त्रालयले चार वटै सुरक्षा निकायलाई राजनीतिक दल, उनीहरूले खडा गरेका उम्मेदवार, स्वतन्त्र उम्मेदवारसँगै सरोकारवाला निकायसँग निरन्तर सहकार्य र समन्वय गरी सुरक्षा परिचालन गरेका कारण आमरूपमा अपनत्व वृद्धि भएको पाइएको छ । आगामी निर्वाचनको मुख्य चुनौतीका रूपमा राजनीतिक दलका प्रतिस्पर्धीबिच हुन सक्ने विवाद तथा झडप, जेनजी र राजनीतिक दलबिच हुन सक्ने विवाद र खुला सिमानाका कारण उत्पन्न हुन सक्ने परिस्थितिलाई मुख्य सुरक्षा चुनौती आकलन गररे सोही अनुसारको तयारी गरिएको जनाएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा फरार भएका कैदी र लुटिएका हतियारबाट उत्पन्न हुन सक्ने सम्भावित चुनौती रोक्न चार वटै सुरक्षा निकायले संयुक्त र छुट्टाछुट्टै अपरेसन सञ्चालन गरिरहेकाले त्यसबाट कुनै असुरक्षा महसुस गर्नुपर्ने अवस्था नरहेको पनि मन्त्रालयले जनाएको छ ।