जनार्जन खत्री
सर्लाही, माघ १२ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले कांग्रेसलाई लगाएको गुणबारे आफू राम्रोसँग जानकार रहेको बताउनु भएको छ ।
दोस्रो विशेष महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलो पटक सोमबार मधेश झर्नुभएका थापाले आफ्नो निर्वाचन क्षेत्र सर्लाहीको धनकौल गाउँपालिकास्थित क्षेत्रीय पार्टी कार्यालयमा कार्यकर्तालाई सम्वोधन गर्दै मधेशले कांग्रेस र प्रजातन्त्रलाई लगाएको गुण भुल्न नसक्ने बताउनुभएको हो ।
“आफूलाई मधेशमा आएर समाहित भएपछि यहाँको बारेमा थप जान्न पाउँछु भनेर सर्लाही आएको हुँ,” थापाले भन्नुभयो, “अब यहीँको प्रतिनिधि भएर यहाँको रहनसहनसँग घुुलमिल हुने छु ।”
आफूभित्र मधेश र मधेशभित्र आफूलाई ल्याउने प्रयासस्वरुप सर्लाही आएको थापाको भनाइ छ । केही वर्षअघि नै पूर्वपश्चिम हुलाकी राजमार्गको यात्रा गर्दा आफूलाई मधेशको प्रतिनिधित्व गर्ने रहर लागेकोमा यो पटक साकार भएको उहाँले बताउनुभयो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा यत्रो योगदान गरेको मधेशमा अब आफू सेवक भएर काम गर्ने कांग्रेस सभापति थापाको भनाइ छ । उहाँले सर्लाही ४ र काठमाडौंमा स्थायी कार्यालय खोलेरै सर्लाही ४ का नागरिकको समस्या समाधानमा लाग्ने बताउनुभयो ।
थापाले करिव १५ मिनेट सम्बोधनमा कुनै राजनीतिक दल तथा नेताविरुद्ध बोल्नु भएन । आफू कसैविरुद्ध आरोप प्रत्यारोपमा उत्रन नभई नागरिकको सेवक बन्न आएको कांग्रेस सभापति थापाको भनाइ छ ।
कांग्रेस सभापति थापालाई सोमबार मधेश प्रदेशको बारा, रौतहट र सर्लाहीका विभिन्न स्थानमा स्वागत गर्दै नेता, कार्यकर्ताले क्षेत्र नं= ४ सम्म ल्याएका हुन् । थापाले सोमबार दिउँसो सर्लाहीस्थित मुक्तेश्वर बाबाधाम मन्दिरमा दर्शन गरी क्षेत्र नं= ४ मा प्रवेश गरेर चुनावी अभियान सुरु गर्नुभएको हो ।
म मधेस बुझ्न आएको हुँः सभापति थापा
यसैगरी, राससका अनुसार, नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न र बुझ्न आएको बताउनुभएको छ ।
आज सर्लाही निर्वाचन क्षेत्र नं ४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेस पढ्न र बुझ्न आएको बताउनुभयो । सिमरा विमानस्थलमा आर्लेपछि ठाउँठाउँमा मधेसका साथीहरुले स्वागत गरेर देखाएको मायाले आफूलाई उत्साहित बनाएको उहाँको भनाइ थियो ।
नेपाली कांग्रेसको नेता भएको हैसियतले सभापति थापाले मधेसले कांग्रेस र लोकतन्त्रका लागि लगाएको गुणबारे जानकार भएको बताउनुभयो ।
“अब म यहाँको भाषा, रहनसहन, वेशभूषा, संस्कार संस्कृति सबै पढ्छु र सिक्छु । केही नेता साथीहरुले एक लाइन भए पनि स्थानीय भाषामा सम्बोधन गरिदिनु भन्नुभएको थियो”, उहाँले भन्नुभयो, “म दुई दिनको चटक देखाउन आएको हैन । त्यसैले सबै सिक्छु अनिमात्रै बोल्छु ।”
काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधि भएर मधेसका सवालहरू संसदमा धेरै पटक उठाएको उल्लेख गर्दै उहाँले यस पटक मधेस र मधेसका सवाल नजिकबाट बुझ्ने प्रतिबद्धता जनाउनुभयो । एक पटक भए पनि मधेसप्रति समर्पित नभई, मधेसमा आफू र आफूमा मधेस नल्याई सम्पूर्ण रुपमा नेपाली हुन नसक्ने ठानेर आफू मधेस झरेको उहाँले स्पष्ट पार्नुभयो ।