काठमाडौँ, माघ १२ गते । नेपाल विद्यालय खेलकुद महासङ्घ (एनएसएसएफ) को आयोजनामा आईएसएफ स्पोर्ट्स टिचर्स ट्रेनिङ कोर्स सोमबार सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (आईएसएफ) को सहकार्यमा सातदोबाटोस्थित प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कुलमा भएको चारदिने तालिममा दुई सय पाँच जना सहभागी थिए । जसमा एक सय ७८ जना उत्तीर्ण भएको आईएसएफका कार्यकारी सदस्य एवं एनएसएसएफका महासचिव राजकुमार कार्कीले जानकारी दिनुभयो ।
विद्यालय तहमा कार्यरत खेलकुद शिक्षक तथा प्रशिक्षकहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा खेल विज्ञान, खेल प्रशिक्षण विज्ञान, खेल काइनेशियोलोजी तथा बायो–मेकानिक्स, खेल चिकित्सा तथा फिजियोथेरापी, खेल व्यवस्थापन, बाल मनोविज्ञान, डोपिङ नियन्त्रण तथा खेलकुदमा सुरक्षासम्बन्धी विषय समेटिएको महासचिव कार्कीले बताउनुभयो ।
सहभागीलाई राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समितिकी सदस्य रञ्जना प्रधान, एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठ, नेपालय इन्टरनेसनलका अध्यक्ष सुवासचन्द्र प्रधान, प्रिमियरकी प्रिन्सिपल समा क्षेत्री, प्याब्सनका उपमहासचिव भुवनलाल श्रेष्ठलगायतले एक कार्यक्रमबिच प्रमाण पत्र प्रदान गर्नुभयो ।