• १२ माघ २०८२, सोमबार

विजयराज आचार्यका आठ बालसाहित्यिक कृतिहरुको विमोचन

blog

बालसाहित्यिक कृतिहरुको विमोचन कार्यक्रम ।

पाटन (ललितपुर),माघ १२ गते ।बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्यका आठ बालसाहित्यिक कृतिहरुको एकसाथ विमोचन गरिएको छ ।

तेस्रो बालसाहित्य महोत्सवको अवसरमा प्युठान वाङ्मय केन्द्र काठमाडौँद्वारा पाटन दरबार सङ्ग्रहालयको भण्डारखाल हलमा आज आयोजित कार्यक्रममा आचार्यका ‘दसैँको आशिष’, ‘पाटे चितुवा’, ‘उनीहरु कहाँ गए होलान्’, ‘गोपाल’, ‘महिषपाल’ र ‘किराँत’ र ‘डेढ गगरिया’सहित आठ बालसाहित्यिक कृतिहरुको विमोचन गरिएको हो ।

पुस्तक विमोचन कार्य सङ्गीत नाट्य प्रतिष्ठानका पूर्वउपकुलपति एवं वरिष्ठ नाट्यकर्मी हरिहर शर्माले एकैपटक आठ वटा किताब प्रकाशन गर्नु महत्त्वपूर्ण भएको बताउँदै प्रकाशित पुस्तकहरु समय सान्दर्भिक रहेको बताउनुभयो । 

“जुन वर्गलाई लक्षित गरिएको हुन्छ, त्यो वर्ग वा उमेर समूहको मनमष्तिस्कले मन पराउने खालको विषयवस्तु हुनुपर्छ, आज विमोचन भएको बालसाहित्य पुस्तकले यी विषयहरुलाई समेटेको छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय समाचार समितिका पूर्वसम्पादक प्रमोद प्रधानले बालसाहित्यका बारेमा हाम्रो आफ्नो धारणाभन्दा पनि विश्वव्यापी अभ्यास र अवधारणालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।उहाँले बालसाहित्यमा बालबालिकाको रुचि र उनीहरूको मनोविज्ञानलाई ध्यान दिएर लेख्ने पद्धतिलाई जोड दिनुपर्ने धारणा राख्नुभयो ।

विमोचन गरिएका पुस्तकहरुको समीक्षा गर्दै प्राध्यापक डा .गोविन्द पौडेलले हिजोको इतिहासलाई सरल रुपमा कलात्मक ढङ्गले प्रस्तुत गरिएको बताउनुभयो । ‘डेढ गगरिया’ कृतिको बारेमा साहित्यकार कृष्णराज सर्वहारीले पाँच वटा लोककथा रहेको यस पुस्तकमा कथाहरूसँग प्रसङ्ग मिल्ने गीतहरू राखिएको भए अझै उचित हुने धारणा राख्नुभयो ।

यो पुस्तक थारु समुदायको बालबालिकाहरुका लागि उपयुक्त हुने उहाँको भनाइ थियो । रासस