दमौली (तनहुँ), माघ १२ गते। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमले जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आज निरीक्षण गर्नुभएको छ ।
त्यस क्रममा उहाँले उपचार केन्द्रबाट भइरहेको सेवाप्रवाहबारे जानकारी लिनुभएको छ ।उपचार केन्द्रका कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठले केन्द्रबाट प्रवाह भइरहेका सेवाबारे मन्त्री गौतमलाई जानकारी गराउनुभयो ।
अघिल्लो सरकारका पालामा सम्पन्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार भारत सरकारसँग तीन सय शय्यामा अस्पताल स्तरोन्नतिका लागि सम्झौता प्रक्रिया अगाडि बढाउन मन्त्री गौतमको ध्यानाकर्षण गराइएको थियो ।
जवाफमा स्वास्थ्यमन्त्री गौतमले उपचार केन्द्रलाई विशिष्ट अस्पतालको रूपमा विकास गरिने बताउनुभयो । मन्त्रालयका सचिव डा .विकास देवकोटाले अस्पताललाई श्वासप्रश्वास अस्पतालको रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा श्वासप्रश्वाससम्बन्धी विशिष्टिकृत सेवा दिन यहाँ अस्पताल स्थापना गरिएको थियो । सरकारले विसं २०६७ सोसम्बन्धी निर्णय गरेको थियो । हाल यहाँ पचास जनरल वाड सञ्चालनमा छन् ।
विसं २०७५ सालमा सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो । हाल उपचार केन्द्रको नाममा ७४० रोपनी जग्गा प्राप्त भइसकेको छ । रासस