रोम, माघ १२ गते । भूमध्यसागरमा ५१ जना आप्रवासी बोकेको डुङ्गा डुब्दा सवार यात्रु मध्ये एक जना जीवित रहेको पुष्टि भएको छ भने ५० जना अझै बेपत्ता रहेको स्थानीय मिडियाले जनाएको छ ।
जीवितै उद्धार गरिएका व्यक्तीलाई व्यापारी जहाजले उपचारका लागि माल्टाको अस्पतालमा लगेको जनाइएको छ । उहाँका अनुसार उक्त डुङ्गा लिबियाबाट भूमध्य सागरमा आएको थियो भने दुर्घटनाग्रस्त डुङ्गालाई समातेर पानीमा तैरिरहेको अवस्थामा उहाँलाई उद्धार गरिएको थियो ।
दुर्घटनापछि, तुरुन्तै खोजी तथा उद्धार कार्य सुरु गरिएको भएता पनि अझै ५० जना बेपत्ता रहेको जनाइएको छ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) को तथ्याङ्कले यस वर्षको सुरुदेखि भूमध्य सागरमा १४ जना बेपत्ता भई मृत पुष्टि भएको देखाएको छ भने सन् २०२४ मा यो मार्गमा मृत्यु र बेपत्ता हुनेको सङ्ख्या एक हजार ८७३ पुगेको थियो । रासस/सिन्ह्वा