हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), माघ १ गते । एकदशक अगाडि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोसेरको चरन क्षेत्रमा हिमपात हुदाँलोमान्थाङ गाउँपालिका–१, छोसेरका च्याङ्ग्रापालक कृषक आङ्ग्याल गुरूङले गोठ बस्तीमा सार्ने गर्नु हुन्थ्यो ।
चार महिनासम्म चरन क्षेत्रमा चार फिटसम्म हिउँ पर्दा च्याङ्ग्रापालक कृषकले बस्तीमा दानापानीको जोहो गर्नुपर्ने बाध्यता थियो । जलवायु परिवर्तनका कारण नियमित हिमपात नहुदाँ कृषक गुरूङ पछिल्लो पाँचबर्ष यता तापक्रम ऋणात्मक हुँदा समेत समुन्द्रि सतहदेखि ४ हजार ७ सय मिटरको उचाइमा च्याङ्ग्रा चराइरहनु भएको छ । कृषक गुरूङजस्ता करिब १० जना च्याङ्ग्रापालक कृषकहरूको गोठ अहिले पनि बस्तीभन्दा माथि चरन क्षेत्रमै छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्ने कोरलाको नाका आसपासका क्षेत्रका पहाडमा सेताम्मे हिउँ हुनु पर्नेमाअहिले च्याङ्ग्राका बथानहरू भेटिन्छन् । कृषक गुरूङ भन्नु हुन्छ, ‘‘माघ महिना लाग्यो अहिलेसम्म हिमपात भएको छैन, जलवायु परिवर्तनले घाँसे मैदान पनि विस्तारै घट्दैछ, नियमित हिमपात भए घाँसको समस्या हुने थिएन ।’’ चिसो झन् झन् बढ्दै गए पनि हिमपात नहुँदा कृषकलाई समस्या भइरहेको छ । उपल्लो मुस्ताङमा कात्तिक महिनादेखि नै पहाड आसपासमा हिमपात हुने गरेकोमा पछिल्लो वर्षमा माघ महिनामा समेत उपल्लो मुस्ताङमा रहेका हिमाल समेत हिउँले सेताम्मे ढाकिनु पर्ने कालापत्थर जस्तै देखिन्छन् । कोरला नाकामा ब्यवसाय गर्ने छोसेरका यूवा पेमा छिरिङ गुरूङले पछिल्लो समय हिमपात नहुँदा कृषि, पशुपालन र पर्यटन क्षेत्रमा समेत असर गरेको बताउनु हुन्छ ।
गुरूङ भन्नु हुन्छ, ‘‘धाराको पानी जमेका कारण कतिपय ठाउँमा बरफ तताएर पानी प्रयोग गर्नुपर्ने बाध्यता छ, हिउँ नपर्दा स्थानीय चिन्तित छन् ।’’ उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा अत्यधिक चिसोका कारण साना खोला, कुवा, खानेपानी धारा, सिँचाइ कुलोका साथै घरका ट्याङ्की बरफ बनेर जमेको लोमान्थाङ गाउँपालिका–२,का वडा अध्यक्ष एवम् आर्थिक समितिका संयोजक कर्म नाम्ङग्याल गुरूङले बताउनु भयो । बिहान र बेलुकीको समयमा न्यूनतम तापक्रम माइनस डिग्री सेल्सियसमा झरेको अवस्थामा हिमपात नहुदाँ कृषि उत्पादन र पशुपालनमा चरन क्षेत्रमा प्रयाप्त घाँस नहुने भन्दै कृषक चिन्तित भएको वडा अध्यक्ष गुरूङको भनाइ छ । अनियमित हिमपातको असर विस्तारै मुस्ताङमा देखिन थालेको छ । कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डा.लालमणी अर्यालले समयअगावै स्याउको फुल फल्ने, चरन क्षेत्रमा घासँको अभाव, विभिन्न रोग फैलिने जोखिम रहेको बताउनु भयो ।
कार्यालय प्रमुख डा.अर्यालले भन्नु हुन्छ, ‘‘हिउँ नपर्नु कृषि र पशुपालनका लागि ठुलो सङ्कट हो, नियमित हिमपात नहुदाँ वैकल्पिक योजनाहरू बनाउनु पर्छ ।’’ मुस्ताङको माथिल्लो क्षेत्रमा रहेको चरन क्षेत्रमा भेडाच्याङ्ग्रा, याकचौरीलगायत पशुपालन, स्याउ र अन्य कृषिजन्य बस्तुमा किराको प्रकोपलाई न्यूनीकरण गर्ने कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताउनु भयो ।
जिल्लाको थासाङ, घरपझोङ र बाराजुङ मुक्तिक्षेत्र, घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा जलवायु परिवर्तनबाट भइरहेको असरको क्षर्तीपुर्ती समेत माग गर्ने गरिएको छ । माथिल्लो क्षेत्रमा चिसो हावापानीमा हुर्किने पशुचौपायालाई चरन क्षेत्रको अभाव हुदाँ सङ्ख्या घट्न सक्ने दिर्घकालिन चुनौती समेत रहेको छ । समयमा हिउँ नपर्दा खेतीबाली उत्पादनमा ह्रास आउँछ । मुस्ताङले जलवायु परिवर्तनका कारण भोग्दै आएको समस्याका बारेमा सङ्घीय, प्रदेश सरकारमार्फत अन्तर्राष्ट्रियस्तरमा समेत दवाव दिने प्रयास गरिए पनि प्रभावकारी हुन सकेको छैन ।