• १ माघ २०८२, बिहिबार

कला झल्काउने गाउँ

blog

शालिकराम नेपाल 

चितवन,माघ १ गते  । खरले छाएको छानो । कमेरो र रातो माटोले पोतेको भित्ता । पालीले बनाएको आकर्षक घर । कालो काठको दैलो । पिँढीमा ढिकी र जाँतो राखिएको  । यी र यस्तै कलाले भरिएको परम्परा झल्काउने घरहरूको एउटा गाउँ निर्माण गरिएको छ । 

पुस २५ गतेबाट टिकौली चौरमा सुरु भएको रत्ननगर महोत्सवको आकर्षण नै विभिन्न जातजातिको कलात्मक घर भएको छ । आधुनिकताले आफ्नै संस्कृति कला मासिँदै जाने जोखिम रहेको छ । यस्तो समयमा चितवनको आदिवासी जनजातिको संस्कृति जोगाउन र पहिचान दिनका लागि महोत्सवमा एउटा गाउँ नै निर्माण गरिएको छ । 

आधुनिकताको पछाडि लाग्दा आफ्नै संस्कृति हराउन लागेको महसुस गरेर सांस्कृतिक घर निर्माण गरेको रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्कर गिरी बताउनु हुन्छ । उहाँले भन्नु भयो, “अहिले व्यापार मात्रै गर्ने उद्देश्यले मेला महोत्सव आयोजना भएको छ तर आफ्नो जिल्लाको पहिचान दिने खालका संस्कृतिको जगेर्ना भएको पाइँदैन । त्यसैले हामीले जिल्लाका विभिन्न जातजातिको पहिचान दिन एउटा गाउँ नै निर्माण गरेका छौँ ।” गाउँमा थारू, मगर, गुरुङ, दराई, माझी, तामाङ र कुमाललगायत नौ वटा जातजातिको सांस्कृतिक पहिचान बोकेको घर निर्माण गरिएको छ ।

गाउँमा थारू, मगर, गुरुङ, दराई, माझी, तामाङ र कुमाललगायत  नौ वटा जातजातिको सांस्कृतिक पहिचान बोकेको घर निर्माण गरिएको छ । घरमा सम्बन्धित जातिले प्रयोग गर्ने सामग्री, कपडा, कृषि तथा दैनिक प्रयोग गरिने सामग्री राखिएको छ । यस्तो निर्माणले जातजातिको पहिचान दिनका लागि धेरै सहयोग पुग्ने थारू कल्याणकारी सभा चितवनका सभापति ललित चौधरीले बताउनु भयो ।

नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङका अनुसार हिजो आजका युवामा जातजातिको पहिचान संस्कृतिका बारेमा जानकारी लिने संस्कार हराउँदै गएको छ । यस्ता उत्सवमा घर निर्माण गरी उनीहरूले प्रयोग गर्ने सामग्रीसमेत राख्दा धेरै राम्रो देखिएको छ । उहाँले महोत्सव स्थलमा चेपाङ जातिको घर निर्माण नगरेकोमा भने दुःख व्यक्त गर्नु भयो ।