सिराज खान
नेपालगन्ज, माघ १ गते । बाँके र बर्दियाका थारू बाहुल्य गाउँबस्तीहरु यति बेला जताततै माघीमय भएका छन् । थारू समुदायले आफ्नो मुख्य पर्व माघी बिहीबार हर्षोल्लसाका साथ मनाउँदै छन् ।
माघीको सुरुवात बिहीबार बिहानै नजकिका नदी खोलामा पुगेर स्नान गरेर गरिएको बाँकेको राप्तीसोनारी गाउँपालिका ७ का वडा अध्यक्ष राम लखन थारुले बताउनुभयो । उहाँका अनुसार अहिले थारु समुदायलगायत अधिकांश हिन्दु समुदायका मानिसहरु नदी खोलामा स्नान गरेर फर्किएका छन् ।
यस दिन खोला नदीमा गई नुहाउँदा वर्षभरिको पाप पखालिने जनविश्वास छ । नुहाइवरी आफूभन्दा ठुला मान्यजनलाई सेवा ढोक गरी आशिर्वाद लिने र साथीभाईसँग अङ्कमाल गरी माघीको शुभकामना आदानप्रदान भइरहेको बाँके बैजापुरका थारु अगुवा बिमला चौधरीले बताउनुभयो ।
उहाँले राप्ती नदीको विभिन्न घाटलगायत अन्य खोला तथा तलाउ वरिपरि बिहीबार दिनभरि मेला लाग्ने पनि बताउनुभयो ।
यो पर्व आउनुभन्दा एकसाता अघिबाटै गाउँघरमा माघी पर्वको रमझम चलिरहेको थियो । माघी पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा समेत मान्ने गर्छन् । यस पर्वलाई थारू समुदायले बरका तेउहार (ठूलो पर्व) का रुपमा मनाउँछन् ।
थारू संस्कृति झल्कने नृत्यले केहीदिनदेखि गाउँघर गुञ्जयमान भइरहेको जनाउँदै बाँके विनौना निवासी थारु अगुवा हेमन्त चौधरीले थारू बस्तीमा केहीदिन अघिबाटै युवायुवती मघौटा, सखिया र हुरदङ्गा नाच नाच्न व्यस्त रहेको बताउनुभयो ।
चौधरीका अनुसार दसैँ तिहारमा घर नआएका व्यक्ति पनि माघीमा घर फर्किएकाले माघीको वेग्लै रौनक छाएको छ । ठाउँ ठाउँमा माघी मिलन र शुभकामना आदान प्रदान भैरहेका छन् ।
थारु अगुवाहरुका अनुसार थारूहरुले माघीमै वर्ष दिनको योजना बनाउने गर्छन् । माघीमा बनाएको योजनाअनुसार नै परिवारका सदस्यहरु सबै आ–आफ्नो काममा लाग्छन् । घर छुट्टिने, खेतबाली लगाउने निर्णय पनि माघीमै गरिन्छ ।
थारु समुदायमा माघे सङ्क्रान्तिको अघिल्लो दिन रातभर जाग्राम बसेर भजन कीर्तन गरिएको थियो । यो पर्वमा थारू जातिले विशेष परिकारका रुपमा ढिकरी (चामलको पीठोबाट बनाइने परिकार), माछा, घोघी, सुँगर वा बङ्गुरको मासु र जाँड खाने तथा खुवाउने चलन छ । माघीमा गाउँका सबै जना जम्मा भएर वर्षदिनका लागि बड्घर (गाउँको अगुवा), चौकीदार र गुरुवा चयन गर्ने गरिन्छ ।
माघीमा चयन गरिने अगुवाले वर्ष दिनभरि गाउँको विकास निर्माण, सुरक्षा, सूचना, कुलोपानी र पूजाआजामा अगुवाइ गर्ने गर्छन् ।