गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १ गते । नागरिक लगानी कोषले सेयरधनीलाई पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश गरी १३ प्रतिशत लाभांश दिनेभएको छ । कोषको बुधबार सम्पन्न ३१ औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को आम्दानीबाट उक्त लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न सभाले आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तको वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरेको छ ।
सभामा कोष सञ्चालक समितिका अध्यक्ष घिमिरेले कोषको कार्यव्रmममा नसमेटिएका स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका सर्वसाधारणलाई समेट्ने गरी नागरिक पेन्सन योजनालाई प्रवर्धन गर्दै लैजाने योजना रहेको बताउनुभयो । आगामी दिनमा कोषले बचत सङ्कलनको दायरा विस्तार गर्दै जानेमा उहाँले जोड दिनुभयो ।
कोषले नेपाल सरकारका प्राथमिकतामा रहेका परियोजनामा लगानी बढाउने, सहभागीलाई प्रदान गर्दै आएको सहभागी कर्जालाई विस्तार गर्ने, सेयर धितो कर्जा प्रदान गर्ने, जोखिम विश्लेषण गरी उपयुक्त पूर्वाधारसम्बन्धी परियोजनामा लगानी बढाउँदै लैजानेमा उहाँले जोड दिनुभयो ।
कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषले गत वर्षदेखि नागरिक लगानी कोष ऐनले निर्दिष्ट गरेको समयावधि भित्रै साधारण सभा गर्न सफल भएको बताउनुभयो । उहाँले हाल अधिक तरलताका कारण कोषको मौज्दात रकमलाई पूर्ण रूपमा परिचालन गर्न चुनौतीपूर्ण रहेको विषय उल्लेख गर्नुभयो । कोषले लगानी विविधीकरणका लागि विभिन्न नीतिगत व्यवस्था गरेको, नागरिक लगानी कोष ऐन संशोधनको प्रव्रिmयामा लगेको, जलविद्युत् आयोजनामा लगानीका लागि कार्य अघि बढाएको एवं उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गर्न आवश्यक गृहकार्य भइरहेको उहाँले बताउनुभयो ।
साधारण सभामा प्रस्तुत विवरण अनुसार आव २०८२/८३ को असोज मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम दुई खर्ब ९६ अर्ब ८९ करोड रुपियाँ पुगेको छ । सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीका तर्फबाट नारायणप्रसाद घिमिरे निर्विरोध निर्वाचित हुनुभएको छ ।