• २७ पुस २०८२, आइतबार

सक्खर उत्पादन आम्दानीको आधार

blog

हिले समाचारदाता

हिले, पुस २७ गते  । धनकुटा महालक्ष्मी नगरपालिका–४, चानुवामा परम्परागत रूपमा उत्पादन हुने सक्खर आम्दानीको दरिलो आधार बनेको छ । घरेलु पद्धतिबाटै तयार गरिएको सक्खरको माग र मूल्यसमेत आकर्षक छ । 

एक दशकदेखि उखु खेती तथा सक्खर उत्पादन थाल्नुभएका धनकुटा महालक्ष्मी नगरपालिका–४, चानुवका तायोनाथ कोइरालाको परिवारलाई अहिले उखु पेलेर सक्खर बनाउन भ्याइनभ्याइ छ । सङ्खुवासभामा पहिलेदेखि नै हुने गरेको सक्खर उत्पादन तथा व्यवसाय देखेर सहकारी संस्था गठन गरी गाउँमा सुरु गरिएको सक्खर उत्पादन अहिले आम्दानीको मुख्य स्रोत बनेको कोइराला बताउनुहुन्छ । यो वर्ष करिब चार रोपनी जग्गामा खेती गरिएको उखुबाट उत्पादन गरिएको सक्खरले यस वर्ष तीन लाख रुपियाँसम्म आम्दानी गर्ने कोइरालाको भनाइ छ । 

कोइरालाको जस्तै धनकुटा महालक्ष्मी नगरपालिका–४, चानुवाका करिब ८० परिवार उखु खेती गरी सक्खर बनाउँछन् । उखु काटेर कोलमा पेली रस निकालेर पकाएर सक्खर बनाउनु पर्छ । गाउँमा एक परिवारले ५० हजारदेखि छ लाख रुपियाँसम्मको उखु बिक्री गर्ने गरेको स्थानीय गोमा कोइराला बनाउनुहुन्छ । उखु खेतीदेखि सक्खर उत्पादनसम्म धेरै झन्झट हुने भए पनि बिक्रीमा कुनै समस्या नहुँदा कृषक ढुक्क भएर सक्खर उत्पादन गर्दै आएको कोइरालाको भनाइ छ । 

गाउँभरिको उखु पेल्ने कोल भने एउटै छ । चार टोलीले एउटै कोल प्रयोग गर्दै आएको छ । पालो पालो गरेर उखु पेलिन्छ र सक्खर बनाइन्छ तर पछिल्लो समय कोल घुमाउन गोरु अभाव हुँदा बेलाबखत समस्या हुने गरेको स्थानीय शारदा कटुवाल बताउनुहुन्छ । 

चानुवाबाट वार्षिक एक करोडभन्दा बढीको सक्खर निर्यात हुन्छ । यहाँको सक्खर पछिल्लो समय धनकुटाको कोसेलीका रूपमा समेत प्रयोग हुने क्रम बढ्दै गएको महालक्ष्मी नगरपालिका–४ का वडाध्यक्ष शुक्रराज बुढाथोकी बताउनुहुन्छ । स्वास्थ्यवर्धक भएकाले मधुमेहका बिरामीसहित विभिन्न दीर्घरोगीले समेत सक्खर सेवन गर्ने क्रम बढेकाले मागसमेत बढ्दो छ ।