हिले समाचारदाता
हिले, पुस २७ गते । धनकुटाको मुगा पुगेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को टोलीले प्रदर्शन गरेको पानी तान्न प्रयोग हुने नयाँ प्रविधिप्रति कृषक आकर्षित भएका छन् । सौर्य ऊर्जा प्रणालीमार्फत करिब ६० मिटर माथि पानी फाल्ने प्रविधि कृषकमाझ प्रदर्शनीमा ल्याइएको हो । यो प्रविधि गाउँघरका खोला खोल्सा तथा पोखरीबाट माथि पानी तान्न उपयोगी हुने भएकाले कृषक आकर्षित भएका हुन् ।
हालसम्म यस्तो प्रणालीबाट पानी तान्ने प्रणाली एकै स्थानमा सेट गरी राख्नुपर्ने भएकामा प्रदर्शनीमा ल्याइएको प्रविधि भने प्रयोगकर्ताले जताततै लगेर चलाउन सक्ने खालको छ । यो प्रविधिको सबैभन्दा राम्रो विशेषता भनेको सानो मोटर र लचिलो सोलार पाता हो । जसका कारण कृषक वा प्रयोगकर्ताले सहज रूपमा आफूलाई आवश्यक परेको स्थानमा लगेर पानी तान्न र प्रयोग गरिसकेपछि सहज रूपमै घरमै ल्याएर राख्न सक्ने छन् ।
नास्टले भित्र्याएको यो प्रविधि अन्य प्रविधिभन्दा निकै भिन्न रहेको नास्टका प्राविधिक अधिकृत दीनबन्धु पराजुली बताउनुहुन्छ । यो प्रविधि कृषक तथा प्रयोगकर्तालाई निकै सहज हुने उहाँको भनाइ छ । “सोलारबाट चल्ने लचिलो सोलार प्रविधि कृषकलाई आवश्यक परेको ठाउँमा ब्यागमा हालेर बोकेर लैजाने ल्याउने गर्न सकिन्छ । यो यसको सबैभन्दा सबल पक्ष हो,” पराजुली भन्नुहुन्छ ।
९५ वाट क्षमताको प्यानलबाट पानी तान्दा करिब ६० मिटर माथिसम्म फाल्छ । यो प्र्रविधि धान खेतीका लागि पर्याप्त नभए पनि तरकारी बालीका लागि उपयोगी हुने नास्टले जनाएको छ । कृषक तथा उपभोक्ताले यो प्रविधि रुचाइएको अवस्थामा अझ बढी शक्तिशाली प्रणाली विकास गर्न सकिने नास्ट उपकुलपति दिलीप सुब्बाले बताउनुहुन्छ । “अहिले हामी परीक्षण र प्रदर्शनीकै क्रममा छौँ,” उहाँले भन्नुभयो, “कृषकको प्रतिक्रिया बुझिरहेको छौँ सोलार पावर थप गरी अझ थप क्षमता युक्त पनि बनाउन सकिन्छ ।”
यस्तो प्रणाली खानेपानी सिँचाइ तथा घरायसी प्रयोजनका लागि निकै उपयुक्त रहेको स्थानीय सीताराम राई बताउनुहुन्छ । यो प्रविधिमा कृषकको सहज पहुँच भए कृषकलाई लाभ पुग्ने पाख्रीबास नगरपालिकाका पूर्वमेयर बिर्सबहादुर राई बताउनुहुन्छ ।