सिँजा समाचारदाता
सिँजा (जुम्ला), पुस २७ गते । जुम्लामा स्याउ बगैँचा काँटछाँट तथा व्यवस्थापन अभियान सुरु गरिएको छ । गुणस्तरीय स्याउ उत्पादन गर्ने र किसानलाई स्याउका बिरुवा काँटछाँट तथा व्यवस्थापनसम्बन्धी व्यावहारिक सिप प्रदान गर्ने उद्देश्यले अभियान थालिएको हो ।
कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (रेरास), चन्दननाथ नगरपालिका र कृषि विकास कार्यालय जुम्लाको संयुक्त आयोजनामा अभियानको सुरु गरिएको हो । बोटका फल टिपेलगत्तै यो समयमा काँटछाँट अत्यन्त महत्वपूर्ण मानिएको छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार यतिबेला स्याउका बिरुवा सुसुप्त अवस्थामा हुने भएकाले काँटछाँट गर्न उपयुक्त हुन्छ । यसै कारण अहिले किसानको बगैँचामै पुगेर स्याउका बगैँचा व्यवस्थापनका विषयमा जानकारी दिने उद्देश्यले अभियान सुरु गरिएको उहाँको भनाइ छ ।
अहिले काँटछाँट, सिँचाइ र मलखादको मात्रा मिलाउन सके उत्पादन उल्लेख्य रूपमा बढ्न सक्छ । स्याउमा लाग्ने रोग नियन्त्रणका लागि निलोतुथो र चुनाको प्रयोग गर्न सिकाइँदै छ । कार्यालयले जिल्लाका आठ वटा स्थानीय तहका ६० मध्ये ३० वटा वडामा रहेका सबै बगैँचामा पुगेर किसानलाई सिप हस्तान्तरण गर्ने तयारी गरेको छ । यसअघि सुर्खेतमा गरिने यस्तो कार्यक्रमलाई अहिले किसानको बगैँचामै पु¥याउन थालिएको हो ।
जुम्लामै तालिम सञ्चालन गरिएकाले जिल्लाका आठ वटै स्थानीय तहका कृषि प्राविधिकले स्याउ काँटछाँटको सिप हासिल गरेको कार्यालयले जनाएको छ । चन्दननाथ नगरपालिका–९ का कार्यवाहक वडाध्यक्ष वृष गिरीले किसानको बगैँचामै पुगेर ज्ञान सिकाउने अभियानले गुणस्तरीय स्याउ उत्पादन वृद्धि गर्न ठुलो सहयोग पु¥याउने बताउनुभयो । जुम्लामा चार हजार ४४५ हेक्टर क्षेत्रफलमा स्याउ खेती हुन्छ । यसै वर्ष मात्रै १७ हजार ६६५ मेट्रिक टन स्याउ उत्पादन भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । जुम्लाबाट मात्रै यस वर्ष ३१ करोड २९ लाख ८९ हजार रुपियाँको स्याउ जिल्लाबाहिर निर्यात भएको छ ।