बबई समाचारदाता
बबई (बर्दिया), पुस २४ गते । बर्दिया जिल्लामा मानव–वन्यजन्तु द्वन्द्व चर्कंदै जान थालेपछि अन्तर्राष्ट्रिय जैविक मार्ग खाता कोरिडोरमा द्वन्द्व न्यूनीकरणको कामनासहित वनदेवीको पूजा गरिएको छ । मानव–वन्यजन्तु द्वन्द्वका कारण वन्यजन्तुको आक्रमणबाट मानिसले ज्यान गुमाउनु परेको भन्दै न्यूनीकरण गर्न वनदेवीको पूजा गरिएको हो । बर्दियाको नेपाल–भारत सीमासँग जोडिएको अन्तर्राष्ट्रिय कोरिडोर खातामा जम्मा भएका थारू अगुवाले वनदेवीको पूजा गरेका हुन् ।
वनदेवीको पूजा वन्यजन्तुले हानि नोक्सानी नगरून्, वनका राजा भनेर चिनिएका वन्यजन्तु वनभित्रै बसून्, अन्तर्राष्ट्रियस्तरको खाता जैविकमार्गमा वन्यजन्तुले मानवलाई दुःख नदिऊन् भन्दै खाता संरक्षण क्षेत्रका स्थानीय र प्राकृतिक गुरुबा, पुजारीद्वारा वनदेवीको पूजा गरिएको छ । खाता जैविक मार्ग क्षेत्रमा वन्यजन्तु वनबाट बाहिर निस्कन लागेको भन्दै वनक्षेत्रमा रहेका वन्यजन्तुलाई शान्त पार्न वनदेवीको पूजा गरिएको हो ।
खाता क्षेत्रमा पूजा गर्नका लागि एक दर्जनभन्दा बढी गुरुबा र पुजारीसहित स्थानीय भेला भएका थिए । वनक्षेत्रमा वनदेवता रिसाएर मानिसमा वन्यजन्तुको आक्रमण बढेकाले वनदेवतालाई शान्त पार्न वनदेवताको पूजा गर्ने गरिन्छ । मधुवन नगरपालिका–२ का गुरुबा संरक्षण समितिका सचिव बालकृष्ण थारूले वनदेवतासहित वन्यजन्तुलाई शान्त पार्नका लागि वनदेवीको पूजा गरिएको बताउनुभयो । मधुवन नगरपालिका–३, खाता गाउँका शरद राईले परापूर्वकालदेखि वनदेवता रिसाएमा मानव वन्यजन्तु द्वन्द्व बढ्दै जाने भएकाले वन्यजन्तुलाई शान्त पार्न सामूहिक रूपमा वनदेवताको पूजा गरिएको बताउनुभयो । पूर्वपश्चिम हुलाकी सडक अन्तर्गत पर्ने खाता कोरिडोरबाट बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कर्तनिया वन्यजन्तु आरक्षबिच खुला सीमा भएकाले उक्त स्थानबाट वन्यजन्तु निर्वाध रूपमा आउने जाने गर्दछन् । अन्तर्राष्ट्रियस्तरको जैविकमार्ग भएकाले पनि वन्यजन्तुको जोखिम अत्यधिक रूपमा छ । खाता संरक्षण समितिका अध्यक्ष हरि गुरुङले जोखिमयुक्त स्थानमा वनदेवता रिसाएर मानव–वन्यजन्तु द्वन्द्व बढेको भन्दै थारू समुदायका अगुवाले वनदेवीको पूजा गरेको बताउनुभयो ।
पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्जसँग सीमा जोडिएको खाता जैविक मार्गमा बाघको आक्रमणमा परेर १७ वर्षीय किशोरी विनिता परियारको मृत्यु भएपछि स्थानीयले वनभित्रका वन्यजन्तु वनमा नै बसून् भने उद्देश्यले वनदेवीको पूजा गरिएको हो ।