बुलबुले समाचारदाता
सुर्खेत, पुस २४ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि दलहरूले धमाधम उम्मेदवार छनोट गर्दै छन् । यतिबेला सबै जसो दलका तल्ला कमिटीबाट उम्मेदवार सिफारिस गर्ने प्रक्रिया चलिरहेको छ तर उम्मेदवार छनोटमा महिला उपेक्षामा परेको गुनासो भइरहेको छ । हालसम्म सिफारिस भएका उम्मेदवारको सूची हेर्दा महिलाको सङ्ख्या नगण्य रहेको एमालेकी केन्द्रीय सदस्य पद्मा खड्काले बताउनुभयो । समानुपातिकतर्फ महिला उम्मेदवार अनिवार्य गरिएकाले बाध्यात्मक भएर महिलाको नाम सिफारिस गरिएको तर प्रत्यक्षमा प्रायः पुरुषको नाम सिफारिस गरिएको छ ।
नेकपा (एमाले) ले सुर्खेतका दुई वटै निर्वाचन क्षेत्रबाट पुरुष उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नं. १ बाट कुवकुमार शाही र क्षेत्र नं. २ बाट कुलमणि देवकोटाको एकल नाम सिफारिस गरिएको हो । जसले गर्दा प्रत्यक्षतर्फ महिला उम्मेदवार सिफारिसमा समेत अट्न सकेनन् । त्यसो त यसअघि पनि एमालेले दुवै क्षेत्रबाट पुरुष उम्मेदवार नै उठाउँदै आएको थियो । त्यसै गरी नेपाली कांग्रेसले पनि महिलालाई समेट्न नसकेको गुनासो भइरहेको छ । कांग्रेसले क्षेत्र नं. १ बाट पार्टी कार्यवाहक सभापतिसमेत रहनुभएका पूर्णबहादुर खड्काको एकल नाम सिफारिस गरेको छ । क्षेत्र नं. २ बाट छ जना सिफारिस हुँदा एक जना महिला सिफारिस गरिएको छ । निवर्तमान सांसद हृदयराम थानीसहित नारायण कोइराला, उपेन्द्र थापा, कलम खत्री, भीष्म हमाल र वसन्ती बस्नेत जिसीको नाम सिफारिस गरिएको हो ।
एमाले र कांग्रेसले मात्रै होइन, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा पुरुष उम्मेदवार बनाउने भएको छ । नेकपाले क्षेत्र नं. १ का लागि जितबहादुर राना र क्षेत्र नं. २ मा झकबहादुर मल्ललाई उम्मेदवार सिफारिस गरेको छ । दुवैको एकल नाम सिफारिस गर्दा महिला आकाङ्क्षी सिफारिसमै पर्न सकेनन् । सुर्खेतका साथसाथै अहिलेसम्म उम्मेदवार सिफारिस भइसकेका कर्णाली प्रदेशका सबै जसो क्षेत्रमा प्रमुख राजनीतिक दलहरूले पुरुषलाई नै अघि सारेका छन् । एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाबजङ्ग शाह सल्यानबाट एकल सिफारिस हुनुभएको छ भने दैलेखको क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि पाँच जना सिफारिस गर्दा चार पुरुष र एक महिला मात्र परेका छन् ।
दैलेखको निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार छनोटका लागि एमालेले निर्वाचन गरेको थियो । प्रत्यक्षतर्फ चुनाव लड्ने उम्मेदवार छनोटका लागि भएको निर्वाचनमा चारै जना पुरुषबिच प्रतिस्पर्धा भएको थियो । जसबाट सर्वाधिक मतसहित विष्णु रिजाल सिफारिस हुनुभएको छ । यसरी सार्वजनिक भइरहेका उम्मेदवारको विवरण हेर्दा कर्णाली प्रदेशमा प्रत्यक्षतर्फको निर्वाचनमा महिला उम्मेदवार शून्य हुने देखिन्छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाले उम्मेदवार हुने चाहना गरे पनि दलले नै उम्मेदवारीका लागि टिकट नदिएको गुनासो महिला नेतृहरूको छ । नेतृत्व तहमा पुग्नका लागि ठुला राजनीतिक दलले महिलालाई स्थान नदिँदा सधैँ पछाडि परेको उहाँहरू बताउनुहुन्छ ।