• २५ पुस २०८२, शुक्रबार

१४ करोडको अस्पताल भवन अलपत्र

blog

सञ्चालनमा आउन नगरेको निर्माणधिन अस्पतालको भवन । तस्बिर : सुधा देव

सुधा देव
भारदह(सप्तरी), पुस २४ गते ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका- ३ सकरपुरामा सुविधा सम्पन्न १५ शय्याको अस्पताल भवन निर्माण भएको डेढ वर्ष बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन ।

०७९ वैशाख २१ मा सम्झौता भई १४ करोडको लगानीमा २०८१ वैशाख १४ गते अस्पतालको भवन निर्माणको काम सम्पन्न भइसक्दा समेत अस्पताल सञ्चालनमा ल्याउन नसकेको हो ।

सुविधा सम्पन्न अस्पतालको भवन निर्माण भए पनि सञ्चालनमा आउन नसक्कनु दुखद रहेको स्थानीय सिताराम रायले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सरकारको ठुलो लगानी छ । अस्पताल सञ्चालन भएको भए सर्वसाधारणलाई उपचार गर्न सहज हुने थियोे ।’’

सघन शहरी तथा भवन निर्माण आयोजना, सप्तरीले अस्पताल भवन बुझ्नका लागि डेढ वर्षदेखि गाउँपालिकालाई पटक–पटक पत्राचार गर्दा समेत नगर प्रमुखले वास्ता नगरेको आयोजनाका सूचना अधिकारी प्रमोद यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अस्पतालको भवन निर्माण काम सम्पन्न भएदेखि भवन बुझ्नका लागि पालिकालाई पटक पटक आग्रह गर्दा समेत जनप्रतिनिधिले आज भोलि गरी टार्दै आउनुभएको छ ।’’

अस्पतालको भवन पालिकाले बुझ्न नमानेको विषयमा जिल्ला प्रशासन कार्यालय सप्तरीलाई जानकारी गराउने र त्यसपछि पनि सुनुवाइ भएन भने विभाग र मन्त्रालयसँग समन्वय गरेर प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो ।

४२ कोठे अस्पतालको भवनमा एक सय ५० केभीएको ट्रान्सफर्मर र एक सय २६ केभीएको जेनेरेटर समेत जडान गरी विद्युतीकरण गरिएको तीन तल्लाको उक्त अस्पताल भवन डेढ वर्षदेखि निर्माण कम्पनी ‘देव एण्ड सायर/ड्राग्न जेभी काठमाडौँले नै रेखदेख गर्दै आएको उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले अस्पताल सञ्चालन गर्न बजेट नहुँदा तत्काल भवन जिम्मा लिन कठिनाइ भएको बताउनुभयो ।

उहाँले भन्नुुभयो, ‘‘भवन जिम्मा लिएसँगै तत्कालै रेखदेख गर्नका लागि दुई जना कर्मचारी राख्नुुपर्ने र त्यसका लागि  बजेट उपलब्ध नभएकाले ढिलो भएको हो । यस वर्षदेखि अस्पताल सञ्चालन गर्ने विषयमा हाम्रो छलफल भइरहेकाले चैतसम्ममा अस्पताल सञ्चालन गर्न सक्ने उहाँले बताउनुभयो ।