• २५ पुस २०८२, शुक्रबार

दरौदी नदीको बगरमा अवैध ढुङ्गा उत्खनन

blog

गुणबहादुर रोका 
सुलीकोट, पुस २४ गते ।
गोरखा नगरपालिका–१२, दरौदी नदीको बगरमा विगत एक सातादेखि अवैध रूपमा ढुङ्गा उत्खनन भइरहेको पाइएको छ । दस किलोदेखि अबुँवा सडकखण्डमा पर्ने दरौदी नदी क्षेत्रमा अनुमति बिना ढुङ्गा निकालेर ओसारपोसार भइरहेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

स्थानीयका अनुसार सो क्षेत्रबाट दैनिक २५ देखि ३० वटा ट्याक्टरले ढुङ्गा उत्खनन गरिरहेका छन्, स्थानीय बब्लु कुमालले भन्नु भयो, ‘‘हरेक दिन ६ देखि ७ ट्याक्टरले धमाधम ढुङ्गा ओसारी रहेकाले उत्खनन गर्नेहरूसँग सोधपुछ गर्दा काजगपत्र छ भन्ने जवाफ पाएको उहाँले बताउनु भयो ।’’

उत्खनन गरिएका ट्याक्टरमध्ये दुई वटा ट्याक्टर पालुङटारतर्फ र बाँकी गोरखातर्फ लगिएको स्थानीयको भनाइ छ । ठुलो परिणाममा नदीजन्य सामग्री अवैध रूपमा निकालिँदा वातावणीय जोखिम बढ्नुका साथै नियम कानुनको खुलेआम उल्लङ्घन भइरहेको भन्दै स्थायीले चिन्ता व्यक्त गरेका छन् ।

हप्ता दिनभन्दा धेरै समयदेखि ढुङ्गा निकालिँदै आएको छ, तर अहिलेसम्म कुनै सरोकारवाला निकाय अनुगमनका लागि आएको छैन, स्थानीय युवा बब्लु कुमालले भन्नु भयो, ‘‘यसरी ढुङ्गा निकालिदा आगामी दिनमा नगरपालिकाले नदीजन्य सामग्रीको ठेक्का लगाउँदा समस्या पर्न भएकाले विशेष नगरपालिकाले निगरानी गर्नु पर्ने उहाँको भनाइ छ ।’’

त्यस्तै, गोरखा नगरपालिका–१२ का वडाध्यक्ष दिलबहादुर थापाले भने आफुलाई यसबारे कुनै पनि जानकारी नभएकाले अवैध रूपमा ढुङ्गा ओसारपोसार गरेको पाइएमा कानुन अनुसार कारबाही हुनु पर्नेमा जोड दिनु भयो ।

गोरखा नगरपालिकामा चालु आर्थिक वर्षमा नदीजन्य सामग्री उत्खननका लागि ठेक्का लगाइएको छैन, प्रमुख प्रशासकीय अधिकृत एकदेब खनालले भन्नु भयो, ‘‘ठेक्का लगाउने प्रक्रिया बल्ल मात्र चलिरहेको छ, हालसम्म ठेक्का लागिसकेको छैन, तर केहि साना आयोजनाका लागि भने उपभोक्ता समिति मार्फत सिमित मात्रामा ढुङ्गा सङ्कलन गर्न अनुमति दिइएको छ ।’’

प्रमुख प्रशासकीय अधिकृत खनालले अवैध उत्खननबारे आवश्यक छानबिन गरी कारबाही गरिने उहाँले बताउनु भयो । नगरपालिकाले प्रत्येक २ देखि ३ वर्षमा नदीजन्य सामग्रीको ठेक्का नवीकरण गर्दै प्रारम्भिक वातावरणिय परीक्षण (आइइई ) गर्ने गरेको उहाँले जानकारी दिनु भयो ।