• २५ पुस २०८२, शुक्रबार

नेपाली युगचेतनाको प्रवर्धन

blog

इतिहासको खास खास कालखण्डमा देखिने प्रभुत्वशाली सांस्कृतिक, प्राज्ञिक, नैतिक वा सामाजिक अवस्था र परिवेशलाई युगचेतनाका रूपमा परिभाषित गर्न सकिन्छ । यस्तो युगीन परिवेशका विशिष्ठ चरित्र हुन्छन् । साहित्य, दर्शन तथा राजनीतिकशास्त्र जस्ता क्षेत्रमा वर्णित खास अवधिका मानवीय समाजका विद्यमान सामूहिक प्रवृत्ति, मूल्यमान्यता तथा राजनीतिक विचारधारा जस्ता सामूहिक परिवेश युगचेतनाका प्रमुख विशिष्ठ विशेषता हुन् । यस्तो युगचेतनाद्वारा आफ्नो निर्धारित चरित्रका आधारमा विगतको स्वभाव र चरित्र दर्शाए पनि ऐतिहासिक मर्म प्रस्तुत भइरहन्छन् । विश्वव्यापी परिदृश्य गर्ने हो भने सन् १९२० को दशक वरपर ‘ज्याज’ युग थियो, जसले आशावादिताको सिर्जना, जीवन मुक्ति दर्शनको व्याख्या गर्दै परम्परागत मूल्यमान्यतामाथि प्रश्न उठाएको थियो । 

सन् १९६० को दशकतिर आइपुग्दा समाज परिवर्तनका निमित्त स्वतन्त्र प्रेम, प्रगतिशील चिन्तन तथा क्रान्तिकारी उत्साहको युग आएको थियो भनिन्छ । त्यसपछि विजयको युगान्तकारी चेतना फैलियो संसारभर । यो विजयको युगलाई कठोर सामाजिक चरित्र निर्माण, कठिन परिश्रम एवं औद्योगिक उन्नयन र प्रगतिमा अविस्मरणीय विश्वास रहेको युगको रूपमा चित्रित गरिन्छ । समकालीन एक्काइसौँ शताब्दीको युगचेतना भनेको डिजिटल अत्यावश्यकतामा अत्यधिक चासो र जोड, सामाजिक न्यायप्रति बृहत्तर ध्यानाकर्षण र कार्यान्वयनउपर चासो तथा जलवायु परिवर्तनद्वारा सिर्जित जोखिम र विपत्तिमा विश्वव्यापी संलग्नता र सक्रियता रहेका छन् ।

नेपाली युगचेतना

नेपाली परिवेशको अहिलेको युगचेतना भनेको सबल उत्तरदायित्व, प्रभावकारी पारदर्शिता र सुनौलो आर्थिक अवसरको उपस्थिति अत्यधिक मागको युग हो । राजनीतिक भ्रष्टीकरण तथा अस्थिरता, प्रशासनिक ढिलासुस्ती, गतिहीनता र सुस्तताद्वारा वाक्कदिक्क भएका नेपाली समुदाय खास गरी नवयुवा समूह यो बेथिति र विकृतिलाई अस्विकार्दै जवाफदेहिता, जिम्मेवारिता र नतिजामुखी आर्थिक उन्नयनको दिशामा आन्दोलित र अभियानित देखिन्छन् । नेपाली जनसमुदाय वर्तमानको गतिहीनता, किंकर्तव्यमूढता, यथास्थितिवादिता र सामाजिक द्वन्द्व एवं अस्थिरतालाई तोड्दै अगाडि बढ्न चाहिरहेका छन् । विरक्त लाग्दो स्वदेशप्रति घृणा जगाउँदै बिदेसिनुपर्ने बाध्यतालाई शीघ्रातिशीघ्र तोड्दै स्वदेशमै रोजगारीका अवसर, शिक्षा आर्जनको मौका र आम्दानी गर्न सक्ने परिवेश निर्माण होस् भन्ने प्रत्येक नेपालीको अभिलाषा छ । समकालीन विश्व परिवेशमा सिर्जित विज्ञान–प्रविधिको विकासले ल्याएको अभूतपूर्व क्रान्तिका प्रतिफल नेपाली समाजले पनि समतामूलक ढङ्गले उपयोग र उपभोग गर्ने सुअवसर प्राप्त गरी विश्व समुदायबिच प्रतिस्पर्धि जीवन जिउने हुटहुटी र तीव्र अभिलाषा व्यग्र–तीर्खा प्यासित छन् नेपाली जनहरू । यो नै आजको प्रभुत्वशाली युगचेतानको विशेषता नेपालीको रहेको छ ।

भावी युगचेतना

आउने नेपाली युग चेतना भनेको आर्थिक क्रान्ति तथा रूपान्तरण नै हो । विगतमा विविध प्रकारका राजनीति तथा सामाजिक क्रान्तिद्वारा खारिएका नेपाली जनताको अबको रूपान्तरणको अभिलाषा भनेको आर्थिक रूपमा देखिने र मापन गर्नयोग्य नतिजाको प्राप्ति नै हो । स्वदेशभित्रै काम र रोजगारी सिर्जना भई आम्दानीका अनगन्ती बाटा खुल्न सकून्–यो सबै नेपालीको मार्मिक चाहना रहेको छ, रहने छ । शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबैका पूर्वाधार सबलीकृत हुन सकून् । सामथ्र्यवान् र स्वचालित प्रणालीले अविराम परिचालित गतिविधिद्वारा इच्छित नजिता सिर्जना गर्न सकून् । आर्थिक स्वायित्व सुनिश्चित भएर जाओस् । नेपालीको आर्थिक युगचेत यिनै पृष्ठभूमि वरपर निर्माण भएर जाने छन् ।

नेपालीको दोस्रो युगचेतना भनेको दीर्घकालीन विकासमा ध्यान केन्द्रित हुने रहेको छ । आर्थिक स्थायित्व प्राप्त गर्दै निश्चित अवधिभित्र विकासका तोकिएका गन्तव्य छिचोल्दै एउटा खास अवधि पारपश्चात् उच्च आम्दानी भएको मुलुक र मुलुकवासी रहेको नेपाल देख्ने तथा विश्वमा चिनियोस् भन्ने इच्छा र अभिलाषा प्रत्येक नेपाली नागरिकको छ । यो नेपालीको गौरवशाली युग चेतना हो ।

नेपाली युगचेतको अर्को महत्वपूर्ण आयामको चर्चा गर्दा मेरिटोक्रेसी तथा कानुनी शासनको प्रत्याभूति हो । कानुनको सबलीकरण र सुदृढीकरणद्वारा समाजका यावत् क्षेत्रमा देखिएको राजनीतिक हस्तक्षेपलाई निस्तेज पार्ने नेपालीको चाहना हो । उपयुक्त ठाउँमा उपयुक्त योग्य व्यक्तिको चयन र जिम्मेवारी प्रदान गरेर नतिजाद्वारा मात्र व्यक्ति मूल्याङ्कन गर्ने परिपाटी बनाउने नेपाली हुटहुटी छ । शासकीय प्रबन्धका हरेक नाका र कुनामा व्याप्त भ्रष्टाचार, बेथिति र विचलनको शून्य सहनशीलता वा न्यून तहमा रहेको अवस्था नेपालीको चाहाना बनेको छ । यो चाहानको प्यासले तिर्खाएर नेपालीको घाँटी सुकेको लामो अवधि व्यतीत भइसकेको पनि छ । यो युगचेनताको लहरमा व्यग्र रूपमा पर्खिएर नेपाली प्रतीक्षारत छन् ।

नेपाली युगचेतनाको भावी पक्षमा विचार गर्दा दिगो विकास तथा समावेशिता अभिवृद्धिसमेत गहिरो रूपमा नेपाली मनमा बसेको देखिन्छ । हाम्रा विकासका प्रयत्नले क्षणिक लाभ र सुविधा दिने मात्र होइन कि यस्तो विकासले लामो कालखण्डसम्म समेत सेवा र सुविधा प्रवाह गरोस् भन्ने नेपालीको दृढ चाहना छ । नेपालीले अवलम्बन गरेको विकास रणनीतिको कार्यान्वयन भावी पुस्ताका आवश्यकतालाई कत्ति पनि सीमित नतुल्याउने गरी हुन सकोस् भन्ने नेपाली अभिलाषा बनेको छ । फेरि यो विकासले समाजमा रहेका सबै क्षेत्र, वर्ग, धर्म, लिङ्ग, जातजाति, जनजाति समुदाय, भूगोल सबैलाई समेट्न गरी समावेशी चरित्र बोकोस् भन्ने नेपाली युगचेतको विकास प्रबल बनिरहेको छ । यिनै नेपाली युगचेतको पृष्ठभूमिमा नेपालको वर्तमान संविधान निर्मित भएर क्रियाशील पनि छ ।

नेपाली युगचेतनाको भावी स्वरूपमा राष्ट्रियताको सुदृढीकरण र राष्ट्रिय पहिचानको अभिवृद्धि पनि अर्को पाटो हो । स्वदेशका बहुधार्मिक, बहुभाषिक, बहुजाति, जनजाति, भौगोलिक विविधता जस्ता यावत् पक्षको समान विकासद्वारा विश्व रङ्गमञ्चमा नेपाली शीर उचो रहने गरी नेपाल मुलुक चिरपरिचित बन्नु पर्छ भन्ने अर्को भावी युगचेत नेपालीजनमा बीजारोपण भएर मौलाउँदै र हुर्किंदै छ ।

कार्यान्वयन शैली

राजनीतिक वैधताको सुदृढीकरण र शासनमा सबलीकरण– नेपाली युगचेतनाबमोजिम समाजको लोकतान्त्रिकीकरण गर्नु पहिलो सर्त हो । लोकतान्त्रिक आचरण, व्यवहार र शैली नेपाली जीवनशैली, जीवनचर्या बन्न सक्नु पर्छ । आवधिक निर्वाचनको स्वच्छता, भयरहितता र स्वस्थ्यता, मौलिक हकको प्रत्याभूति, संवैधानिक प्रावधानको बिनारोकटोक कार्यान्वयन, कानुनी शासनको प्रत्याभूति, मानव अधिकार, प्रेस स्वतन्त्रता लोकतान्त्रिक शासन व्यवस्थाका चरित्र र आभूषण हुन् । यी पक्षमा कहीँ कतैबाट प्रश्न आउनु हुन्न । राजनीतिक हस्तक्षेपबिनाको योग्यता, दक्षता, निर्भयता, तटस्थता र पारदर्शी सार्वजनिक प्रशासन नेपाली युगचेतनाको लक्ष्य हासिल गर्ने पहिलो सोपान हो । सार्वजनिक क्षेत्रका यावत् पक्षमा सबलीकृत उत्तरदायित्वको विकास गरेर लैजानु खाँचो भइसकेको छ ।

आर्थिक क्रान्तिको अभियान–नेपालमा विगतमा राजनीतिक स्वरूपमा धेरै परिवर्तन भएर व्यवस्था पटक पटक फेरिए । यी सबै राजनीतिक फेरबदलले जनताको जीवनमा देखिने गरी, छाम्न हुने गरी र सन्तोष लिन हुने गरी आर्थिक रूपान्तरण ल्याउन सकेन । अब रूपान्तरणको खाका अर्थतन्त्रमा देखिनु प¥यो । वार्षिक आर्थिक वृद्धिदर न्यूनतम ८ प्रतिशत हुने गरी योजना तर्जुमा र कार्यान्वयन हुनु आवश्यक छ । यो युगचेतना नेपाली मनमा रहेको धेरै भइसक्यो । आर्थिक नतिजाले नेपालीजनको समग्र आयाममा रिप्पल इफेक्ट ल्याउने गरी विकास योजना तर्जुमा हुनु प¥यो । लगानी प्रवर्धन, कृषि तथा पर्यापर्यटन क्षेत्रलाई अत्याधुनिकरण तुल्याउने गरी नीति तथा योजना तर्जुमा र तिनको प्रभावकारी कार्यान्वयन टड्कारो देखिन्छ । नेपालको जलऊर्जाको विकास, प्रवर्धन र उन्नति एवं हरित अर्थतन्त्र निर्माणको व्यापक अभियान आजको तथा भावी नेपाली युगचेतनाको प्राथमिक पक्ष बनिसकेको छ । वातावरण संरक्षण पनि नेपाली युगचेतनाको कार्यान्वयनको अर्को महत्वपूर्ण पक्ष हो ।

समावेशी विकास एवं मानव पुँजी निर्माणमा सुदृढीकरण–आर्थिक तथा विकासका प्रतिफल समान रूपमा वितरण हुने परिपाटीको स्थापना नेपालको सन्तुलित विकासमा पहिलो खुड्किलो हो । समाजका सबै तह र तप्काका व्यक्तिलाई हाम्रा विकास प्रतिफलले छुनै पर्छ, प्रभावित तुल्याउनै पर्छ र तिनीहरूको जीवनमा सुखद परिवर्तन आउन पर्छ । सन्तुलित र समावेशी विकास नेपालका नीति र योजना तर्जुमाका आत्मा बन्नु पर्छ । नेपाली समुदायको शान्ति, स्थायित्व र स्थिरता यसमा निर्भर रहन्छ । आर्थिक असमानताको खाडल जति धेरै फराकिलो हुन्छ सामाजिक द्वन्द्व र अस्थिरता सोहीबमोजिम बढेर जान्छ । विकासका मूल प्रवाहमा कोही पनि नछुटोस्, कसैले पनि विकासमा एकलकाटे भएको महसुस गर्नु नपरोस् आजको नेपाली युगचेतनाले यसै भनिरहेको छ । व्यक्तिको सर्वाङ्गिण विकासमा उसको ज्ञान, सिप, क्षमता र समक्षताले प्रभाव पार्ने हुँदा यी चारै पक्षको सर्वोतोमुखी उन्नयन गरेर मानवपुँजी निर्माण हुने ढङ्गले हाम्रा नीति र योजनाको तर्जुमा तथा कार्यान्वयन हुनु पर्छ ।

रणनीतिक भूराजनीतिक अवस्थिति–नेपालको अवस्थिति विश्वका सबैभन्दा बढी जनसङ्ख्या भएका (प्रथम भारत, दोस्रो चीन) र विश्व अर्थतन्त्रमा दोस्रो (चीन) र चौथो (भारत) रहेका मुलुकको बिचमा छ । हाम्रो उपस्थिति भूराजनीतिक हिसाबले रणनीतिक छ । नेपालले अवलम्बन गर्ने सन्तुलित परराष्ट्र नीतिले कतिपय अवस्थामा ठुला मुलुकको बिचमा उनीहरूको सम्बन्ध सेतुलाई मजबुत तुल्याउने काम गर्छ । नेपाल असंलग्न परराष्ट्र नीतिको पक्ष राष्ट्र भएकाले हामीले कसैप्रतिको पक्षधरता नलिई विश्व शान्ति, स्थायित्व र स्थिरतालाई बढावा दिने गरी आफ्नो परराष्ट्र नीति अवलम्बन गर्नु पर्छ । हाम्रो हित यसैमा निर्भर छ । 

यिनै नेपाली युगचेतानाको उल्लेखित स्वरूपका कार्यान्वयन कार्यशैलीको प्रभावकारी रूपमा अवलम्बन र कार्यान्वयन हुन सकेमा हामी नेपालीका आगामी सयम सुखद, आनन्ददायी र विश्व प्रेरणदायी हुने दिशामा अग्रसर हुने अपेक्षा राख्न सकिन्छ ।