• २४ पुस २०८२, बिहिबार

माघीको तयारीमा जुट्यो थारू समुदाय

blog

मघौटा मासु, ढिक्री राख्नका लागि दुना टपरी बनाउँदै थारू महिला । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी 

धनगढी, पुस २३ गते । कैलालीसहित पश्चिम तराईको थारू समुदाय आफ्नो सबैभन्दा ठुुलो पर्व माघ (माघी) को तयारीमा जुटेको छ । माघ पर्व नजिकिएकाले थारू समुदायका मानिस माघको तयारी (सामाजामा) मा जुटेका हुन् । 

माघ थारू समुदायको नयाँ वर्ष पनि हो । पुस महिनाकोे अन्तिम दिनदेखि माघ २ गतेसम्म तीन दिन हर्षोल्लासपूर्वक माघ मनाउने यो समुदायमा चलन रहेको छ । धुमधामसँग पर्व मनाउनका लागि थारू समुदायका मानिस कुुटानी पिसानी गर्ने, दाउरा ल्याउने, जङ्गलबाट पात टिपेर ल्याउने, पातको दुनाटपरी बनाउने कार्यमा जुटेका छन् । 

यसैगरी, प्रत्येक परिवारका लागि मासुको व्यवस्था मिलाउने कार्य पनि चलिरहेको छ । माघमा बङ्गुरको मासु किन्नका लागि पहिल्यै नाम लेखेर लिस्ट तयार पार्ने गरिन्छ । वर्ष दिनपछि फर्केर आउने माघलाई हर्षोल्लासपूर्वक मनाउन तयारीको चटारो रहेको धनगढी उपमहानगरपालिका–९, बङ्गराका दिनेश चौधरीले बताउनु भयो । 

उहाँका अनुसार माघमा खाने परिकार बनाउन कुटानी पिसानीका कार्यहरू भइरहेका छन् । यो पर्वमा चामलको पिठोको ढिक्री र त्यससँग बङ्गुरको मासु खाने गरिन्छ । आफ्नो गाउँमा बङ्गुरको मासु भाग लगाउन बैठक बस्न भने बाँकी रहेको चौधरीले बताउनु भयो । 

“गाउँको बैठक बसेपछि मात्र हाम्रो गाउँमा मासुको लिस्ट तयार पारिन्छ” उहाँले भन्नु भयो, “बैठक बस्न बाँकी छ । तर, अन्य तयारीहरू धुमधामसँग भइरहेका छन् ।” माघ पर्वमा यो समुदायका धेरैजसो मानिसले जाँरको झोल खाने गर्दछन् ।

महिनादिन अगाडिबाटै त्यसको तयारी भइरहेको जनाइएको छ । त्यस्तै, बजारमा किनमेल काम काम पनि सुरु भएका छन् । कैलारी गाउँपालिका–७ का कमलप्रसाद चौधरीले गाउँघरमा माघको सुरसार हुन थालेको बताउनु भयो । उहाँले पर्व, विवाह लगायतका लागि जङ्गलबाट दाउरा सङ्कलन गरेर ल्याउने कार्य भइरहेको उल्लेख गर्नु भयो । 

माघ पर्वको पहिलो दिन मासुसहित खानपान गरेर धमार, ढुमरु गीत गाएर रमाइलो (राहरङ्गित) गर्ने, दोस्रो दिन बिहानै स्नान गरेर ठुलाबडाको आशीर्वाद लिने र तेस्रो दिन माघी डेवानी गरेर पर्व बिसर्जन गर्ने चलन रहेको छ ।