फडिन्द्र अधिकारी
लेखनाथ, पुस २३ गते। राष्ट्रिय सभा निर्वाचनमा गण्डकीमा छ जनाको उम्मेदवारी दर्ता भएको छ। नेपाली कांग्रेस र एमालेले गठबन्धन गरी एकल उम्मेदवारी दर्ता गराएका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवारी दिएका छन्।
गण्डकीमा कांग्रेस र एमालेको गठबन्धनबाट खुलामा प्राडा. जगत तिमिल्सिना र महिलामा सम्झना देवकोटाले मनोनयनपत्र दर्ता गराउनु भएको छ। प्रजातन्त्रवादी प्राध्यापक सङ्घका पूर्वअध्यक्ष तिमिल्सिना कांग्रेस र देवकोटा एमालेबाट उम्मेदवार बन्नु भएको हो।
गोरखा नगरपालिका गोरखाकी देवकोटा अघिल्लो राष्ट्रिय सभा निर्वाचनमा समेत उम्मेदवार हुनु हुन्थ्यो। तनहुँको शुक्लागण्डकीका प्राडा तिमिल्सिना प्राध्यापनबाट राजनीतिमा आउनु भएको हो।
नेकपाबाट खुला समूहबाट कपिल लामा र महिला समूहबाट गोमा लुइँटेल घिमिरेले उम्मेदवारी दर्ता गराउनु भएको छ। ७१ वर्षीय लामा मनाङको नासो गाउँपालिका वडा नम्बर ९, दानक्यु निवासी हुनु हुन्छ। घिमिरे भने माओवादी जनयुद्धकी घाइते हुनु हुन्छ। उहाँ लामो समय पत्रकारितामा समेत सक्रिय हु नुहुन्थ्यो।
राष्ट्रिय जनमोर्चाले गण्डकीमा अन्य समूहबाट कास्कीका शङ्कर बराल र महिलाबाट बागलुङकी लक्ष्मी बास्कोटाको उम्मेदवारी दर्ता गराएको छ। प्रदेशमा जनमोर्चाका ३ मतदाता छन्। प्रदेशसभा सदस्य नरहेको जनमोर्चाका तीन पालिका प्रमुख/उपप्रमुख छन्। प्रदेशमा जनमोर्चाको मतभार ५७ छ।
गण्डकीमा कुल मतभार छ हजार तीन सय ५७ छ। यहाँ प्रदेशसभाका ५९ सदस्यको मतभार तीन हजार एक सय २७ हुन्छ भने स्थानीय तहका प्रतिनिधिको तीन हजार दुई सय ३० गरी कुल मतभार छ हजार तीन सय ५७ छ। गण्डकीको ६० सदस्यीय प्रदेशसभामा एक सदस्य रिक्त छ।
कांग्रेससँग २७ प्रदेशसभा सदस्य र ६७ पालिका प्रतिनिधि गरी दुई हजार सात सय चार मतभार छ भने एमालेका २२ प्रदेशसभा सदस्य र ६८ पालिका प्रतिनिधि हुँदा उससँग दुई हजार चार सय ५८ मतभार छ। एमालेबाट निर्वाचन बागलुङको ढोरपाटन नगरपालिका प्रमुख देवबहादुर नेपाली निलम्बनमा पर्नु भएको छ। यहाँ कांग्रेस र एमालेको गठबन्धन भएकाले यो गठबन्धनका उम्मेदवारको जित निश्चित देखिन्छ।