• २४ पुस २०८२, बिहिबार

राष्ट्रियता र सुशासनमा एमालेको ध्यान छ : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रममा सम्बोधन गर्नुहुँदै । तस्बिरः दिनेश भण्डारी

गोरखापत्र अनलाइन

काठमाडौं, पुस २३ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिका लागि सुशासन र राष्ट्रियताको पक्षमा एमालेले ध्यान केन्द्रित गरेर काम गरिरहेको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै सो कुरा बताउनुभएको हो । “उहिले देश विकासमा निकै पछाडि थियो, बाटाघाटा थिएनन्, आजको जस्तो सवारीसाधन थिएन, तर आज बाटाघाटा छन्, सवारीसाधन छन्, अस्पतालहरु छन् र जीवन सहज बनेको छ” उहाँले भन्नुभयो । 

हाम्रो देशमा विकास भएन भन्ने होइन, विकास भएको छ तर पर्याप्त भएको छैन भन्नुहुँदै अध्यक्ष ओलीले नयाँ चुनौती र समस्याको सामना गर्दै मुलुकको विकास गर्नुपर्ने छ र त्यो सम्भव रहेको उहाँको भनाइ छ । मुलुकको अर्थतन्त्र सबल बनाउन हाम्रा आफ्नै खानीको उत्खनन् र प्रवर्धनको खाँचो रहेको उहाँले बताउनुभयो । त्यसको सुरुवात भइसकेको बताउँदै उहाँले आउने दिनमा त्यसको सदुपयोग गर्नुको विकल्प नभएको उहाँको भनाइ छ । 


भत्काएर मात्र मुलुक नबन्ने तर भत्केको संरचनालाई क्रमशः पुनःनिर्माण गरेर मुलुक बन्ने भन्नुहुँदै अध्यक्ष ओलीले आत्मनिर्भरताको बाटो लिएर भत्केका संरचनाहरुको पुनःनिर्माण गर्दै जानुपर्ने बताउनुभयो । शान्ति सुव्यवस्था कायम गरेरै मुलुकको विकास सम्भव हुने भन्दै उहाँले विभिन्न बहानामा मुलुकमा अराजकता मच्चाउनेदेखि सावधान रहनुपर्ने बताउनुभयो ।

जनताको मानसिक सबलीकरण ठुलो विषय हो, त्यो नभए सकारात्मक र रचनात्मक काम गर्न नसकिने बताउँदै उहाँले मानसिक अवस्था कमजोर हुँदा प्रतिरोधी क्षमता पनि कमजोर बन्ने उहाँको भनाइ छ । भूतपूर्व सैनिक संगठनहरु मुलुकको शक्ति भएको बताउँदै उहाँले देशको समृद्धिमा पनि भूतपूर्व सैनिकको योगदान महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।

देशलाई जात–जाती, भूगोल, आस्थामा फुटाउने प्रयास भइरहेको बताउँदै उहाँले त्यसलाई निस्तेज पार्ने काममा लाग्न सबैलाई आग्रह गर्नुभयो । आन्तरिक एकतामा सुढृता नभई देश बलियो नहुने भन्दै उहाँले एमालेले राष्ट्रिय एकताको पक्षमा निरन्तर काम गर्दैआएको उहाँले बताउनुभयो ।