• २४ पुस २०८२, बिहिबार

पत्रकार तथा पत्रकारिता पेसामाथि आक्रमण गर्नेविरुद्ध कानुनी उपचार खोजिने

blog

खोटाङ, पुस २३ गते ।नेपाल पत्रकार महासङ्घ खोटाङले पत्रकार तथा पत्रकारिता पेसामाथि सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेख्नेविरुद्ध कानुनी उपचार खोज्ने निर्णय गरेको छ । 

पत्रकार महासङ्घको मङ्गलबार दिक्तेलमा बसेको बैठकले सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरूले जिल्लामा क्रियाशील पत्रकार तथा पत्रकारिता पेसाको अपमान गर्दै आक्रमण गरेकाले उनीहरूलाई कानुनी दायरामा ल्याउने निर्णय गरेको हो ।

पछिल्लो समय जिल्लामा क्रियाशील पत्रकार तथा पत्रकारिता पेसालाई कमजोर बनाउने उद्देश्यसहित सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रमण गर्ने प्रवृत्ति भएका व्यक्तिहरू बढेकाले त्यसलाई निरुत्साहित गर्न कानूनी कारबाहीको दायरामा ल्याउने निर्णय गरिएको पत्रकार महासङ्घका अध्यक्ष हरिबोल आचार्यले बताउनुभयो ।

 “संविधानले हरेक नागरिकलाई वाक स्वतन्त्रता (बोल्न पाउने अधिकार) दिएको छ । तर, मनपरी बोल्ने छुट कसैलाई दिएको छैन”, उहाँले भन्नुभयो, “पत्रकारिता पेसा मर्यादित पेसा हो ।

आफ्नो पेसाप्रति हामी पत्रकारहरू संवेदनशील भएर नागरिकको पक्षमा कमल चलाइरहेका छौँ । सत्य, तथ्य र प्रमाणको आधारमा समाचार सम्पे्रसन गर्दा हामी पत्रकारहरूमाथि आक्रमण हुनु निन्दनीय विषय हो । यसको कानुनी उपचार पत्रकार महासङ्घ खोज्छ । यसका लागि पत्रकार महासङ्घको पूर्ण बैठकबाटै निर्णय गरेका छौँ ।”

पत्रकार तथा पत्रकारिता पेसामाथि आक्रमण गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई प्रमाणको आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको मुद्दा दर्ता गर्ने तयारी गरिएको पत्रकार महासङ्घका सचिव राजकुमार भट्टराई ‘सरगम’ले जानकारी दिनुभयो ।

विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दामा दोषी ठहरिएको खण्डमा तीन वर्षसम्म कैद सजाय तथा रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

पत्रकार महासङ्घको बैठकले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन सफल बनाउन आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्ने÷गराउनेसमेत निर्णय गरेको छ ।

पत्रकार महासङ्घको दिक्तेलस्थित कार्यालयमा बसेको बैठकमा पत्रकार महासङ्घ खोटाङका पूर्वअध्यक्षहरू डम्बरसिं राई र दमन राई, निवर्तमान अध्यक्ष दिलीप खत्री,जिल्लास्थित पेसागत सङ्घ÷सङ्गठनका प्रमुख तथा प्रतिनिधि र विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता थियो ।

यसैबीच, नेपाल पत्रकार महासङ्घ खोटाङको टोलीले मङ्गलबार नै प्रमुख जिल्ला अधिकारी रेखा कँडेलसँग समेत भेटवार्ता गरेको छ । भर्खरै सरुवा भएर जिल्ला प्रशासन कार्यालय खोटाङ आउनुभएका प्रजिअ कँडेलसँगको भेटमा जिल्लाका समसामयिक विषयमा छलफल भएको छ । रासस