वासिङ्टन, पुस २३ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खनिज-धनी, स्वशासित आर्कटिक टापु ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा ल्याउने विषयमा सैन्य विकल्पसमेत विचार गरिरहनु भएको ह्वाइट हाउसले मङ्गलबार पुष्टि गरेको छ । यस घोषणाले डेनमार्क, नाटो सदस्य राष्ट्र र अमेरिकाभित्र राजनीतिक क्षेत्रमा विवाद उत्पन्न गरेको छ ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ग्रिनल्यान्ड अधिग्रहणलाई अमेरिकी राष्ट्रिय सुरक्षाको प्राथमिकता भएको बताउँदै राष्ट्रपति र उहाँको टोलीले यसका लागि सबै विकल्पबारे छलफल गरिरहेको र आवश्यक परे अमेरिकी सेनाको प्रयोग राष्ट्रपतिको अधिकारभित्र पर्ने स्पष्ट पार्नु भएको छ । उहाँका अनुसार, रुस र चीन जस्ता विरोधी शक्तिले आर्कटिकमा प्रभाव बढाउन सक्ने भएकाले अमेरिकी योजना रणनीतिक रूपमा महत्वपूर्ण छ ।
वाल स्ट्रिट जर्नलका अनुसार, ट्रम्पको प्राथमिक विचार भने डेनमार्कबाट ग्रिनल्यान्ड खरीद गर्नु हो, जसले तत्काल सैन्य आक्रमणको सङ्केत नदिने जनाएको छ । यद्यपि डेनमार्कले टापुमा बलपूर्वक कब्जा गर्ने कुनै पनि कदमले नाटो गठबन्धनको सुरक्षा संरचना र दशकौँदेखिको ट्रान्साटलान्टिक सम्बन्धलाई गम्भीर खतरा पुर्याउने चेतावनी दिएको छ । नाटोको धारा ५ ले सदस्य राष्ट्रमाथि आक्रमण भएमा समग्र सुरक्षा सुनिश्चित गर्ने वाचा गरेको हुँदा ग्रिनल्यान्डमाथि सैन्य कारबाहीले गठबन्धनलाई परीक्षणमा राख्ने विश्लेषकको भनाइ छ ।
ग्रिनल्यान्डमा हाल अमेरिकी सेनाका करिब १५० जना कर्मचारी तैनाथ छन् र स्थानीय टापुबासी तथा व्यावसायिक सङ्घले ट्रम्पको प्रस्ताव अस्वीकार्य र असभ्य भएको प्रतिक्रिया दिएका छन् । ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स-फ्रेडरिक निल्सनले टापुको भविष्य केवल त्यहाँका ५७ हजार बासिन्दाले निर्णय गर्ने भन्दै यसमा कुनै बाह्य हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पार्नु भएको छ ।
फ्रान्स, बेलायत, जर्मनी, इटाली, पोल्यान्ड र स्पेनसहितका युरोपेली नेताले डेनमार्कसँग मिलेर ‘सार्वभौमिकता, क्षेत्रीय अखण्डता र सिमानाको अलङ्घनीयता’ को रक्षा गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री किर स्टार्मरले ट्रम्पका दूतसँग संवाद गर्दै विवाद कम गर्ने प्रयास गर्नु भएको छ ।
अमेरिकाभित्रै पनि डेमोक्रेट र केही रिपब्लिकन सांसदले ट्रम्पको सैन्य विकल्पलाई गैरजरुरी र खतरनाक भन्दै विरोध जनाएका छन् । एरिजोनाका डेमोक्रेट सिनेटर रुबेन गालेगोले ट्रम्पलाई ग्रिनल्यान्डमा आक्रमण गर्नबाट रोक्ने प्रस्ताव पेश गर्ने वाचा गर्नु भएको छ । रिपब्लिकन नेता माइक जोनसन, जेरी मोरान र डन बेकनले समेत यस कदमलाई मूर्खतापूर्ण र नाटोको पतन निम्त्याउने चेतावनी दिनु भएको छ ।
विश्लेषकका अनुसार, अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा ल्याउने योजना, भेनेजुएलामा राष्ट्रपति निकोलस मदुरोको कब्जा र आर्कटिक क्षेत्रमा खनिज तथा रणनीतिक स्रोतको महत्वले संयुक्त राज्य अमेरिका र युरोपेली देशबिच कूटनीतिक तनाव र सुरक्षा सन्तुलनमा नयाँ चुनौती सिर्जना गरेको छ । यसले दुई पक्षबिच सम्बन्ध तनावपूर्ण बनाएको र सुरक्षा रणनीतिमा असुरक्षा बढाएको विश्लेषकले बताएका छन् । रासस/एएफपी