नवीनराज कुइँकेल
लमजुङ, पुस २३ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङबाट प्रत्यक्षतर्फको उम्मेदवारमा संस्थापक जिल्ला अध्यक्ष एवं केन्द्रीय संगठन विभागका सदस्य इन्जिनियर धर्म के.सी.लाई सिफारिस गरेको छ।
रास्वपा लमजुङको सोमबार बसेको बैठकले केसीलाई आगामी प्रतिनिधि सभा निर्वाचनमा लमजुङबाट एकल उमेदवारको रुपमा सिफारिस गरेको हो। पार्टीका गण्डकी प्रदेश समितिका सदस्यको उपस्थितिमा जिल्ला कार्य समिति, अधिवेशन सम्पन्न भएका तथा तदर्थ समिति रहेका पालिका तथा वडा समिति र जिल्लामा गठन भएका विभिन्न तहगत समितिहरुको संयुक्त बैठकले केसीलार्ई सर्वसम्मत एकल उमेदवारका रूपमा सिफारिस गरिएको जिल्ला सभापति अशोक सापकोटाले जानकारी दिनुभयो।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा पनि केसी लमजुङबाट रास्वपाको प्रत्यक्ष तर्फको उमेदवार हुनुहुन्थ्यो। सो निर्वाचनमा केसीले तेस्रो स्थानमा रहँदै ९ हजार २९ मत पाउनुभएको थियो।
उज्यालो नेपाल पार्टी पनि रास्वपामा समाहित भएपछि सो पार्टीका केन्द्रीय सदस्य निर्देश सिलवालले पनि लमजुङबाट उम्मेदवार बन्ने संकेत गर्नुभएको छ। उहाँले लमजुङबाट उठ्ने संकेत गरेपछि रास्वपा र उज्यालोका नेता तथा कार्यकर्ताहरुको पक्ष र विपक्षमा सामाजिक सञ्जाल तातेको थियो। सिलवाल २०७४ मा विवेकशील साझाबाट लमजुङमा र २०७९ मा काठमाडौं क्षेत्र नम्बर–६ बाट स्वतन्त्र उम्मेद्वार बन्नु भएको थियो। उहाँले २०७४ मा लमजुङमा ६१८ र २०७९ मा काठमाण्डौं–६ मा १२७ मत प्राप्त गर्नु भएको थियो।
जिल्लाले केसीलाई एकल उम्मेदवार सिफारिस गरेपछि रास्वपाका केन्द्रीय प्रवास विभाग सचिव पदमराज पन्थीले राष्ट्रिय स्वतन्त्र पार्टीको नीतिबमोजिम कुनै पनि उम्मेदवारलाई जिल्ला वा निर्वाचन क्षेत्रको सिफारिस आवश्यक नपर्ने बताउनुभएको छ। उहाँले जिल्लाको सिफारिस भन्दै नाम सिफारिस गरिएको विषय पूर्णत गलत भएको सामाजिक सञ्जालमा टिप्पणी गर्नुभएको छ।
जिल्लाले केसीलाई सिफारिस गरे पनि केन्द्रबाट उज्यालो वा बालेन पक्षकालाई टिकट दिएर पठायो भने समर्थन गरेर अघि बढ्नु पार्टीको दायित्व हुने नेताले बताएका छन्।