अविनाश चौधरी
धनगढी, पुस २३ गते । सुदूरपश्चिम प्रदेशस्थित नेपाल–भारत सीमा नाकामा निर्माण भइरहेको ‘इन्टिग्रेटेड चेकपोस्ट’ को प्रदेश सरकारका विभागीय मन्त्रीहरूले आज निरीक्षण गर्नु भएको छ ।
त्रिनगर (गौरीफन्टा) नाका र गड्डा चौकी नाकामा निर्माण भइरहेको ‘इन्टिग्रेटेड चेकपोस्ट’ आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा, भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुनमन्त्री हीरासिंह सार्कीले निरीक्षण गर्नु भएको हो । प्रदेश सरकारको लगानीमा नाकामा चेकपोेस्ट निर्माण गरिदैँछ ।
नाकामा चेकजाँचलाई व्यवस्थित बनाउन इन्टिग्रेटेड चेकपोस्ट निर्माण भइरहेको आर्थिक मामिलामन्त्री थापाले बताउनु भयो । उहाँले इन्टिग्रेटेड चेकपोस्ट निर्माणका लागि मन्त्रीपरिषदमा छलफल गरेर बजेटसमेत विनियोजन गरेको बताउनु भयो ।
त्रिनगर र गड्डाचौकीमा इन्टिग्रेटेड चेकपोस्ट बनेमा भारतबाट आउने आम नागरिक, पर्यटकलाई सजिलो हुने मन्त्री थापाले उल्लेख गर्नु भयो । चेकपोस्टमा स्क्रिनिङ मेसिनहरू राखेर सामान र मान्छे स्क्रिनिङ गरी चेकजाँच गरिने जनाइएको छ ।