अमरराज नहर्की
तनहुँ, पुस २३ गते। आधुनिक कङ्क्रिटका संरचनाले ग्रामीण परिवेशका पुराना मौलिक घर क्रमशः स्मृतिमा मात्र सीमित हुँदै गएका बेला तनहुँको सदरमुकाम दमौलीमा भने एउटा भिन्न र रोचक दृश्य देखिन थालेको छ।
पुस २४ गतेदेखि सुरु हुने ‘छैँटौँ तनहुँ सांस्कृतिक महोत्सव’ को पूर्वसन्ध्यामा यहाँ मगर, दरै र कुमाल समुदायका परम्परागत नमूना घर ठडिएका छन्। जसले व्यास नगरपालिका–३ स्थित खुला मैदानलाई एउटा जीवन्त सांस्कृतिक सङ्ग्राहालयको रूप दिएको छ।
व्यास नगरपालिका–३ स्थित महेन्द्र शालिक परिसरमा निर्माण गरिएका यी घर केवल माटो, बाँस र काठका संरचना मात्र होइनन्। आदिवासी जनजातिको इतिहास, सभ्यता र पुर्खाको विरासत बोकेका गौरवमय प्रतीक हुन्।
नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा हुन लागेको महोत्सवमा जिल्लाका १३ भन्दा बढी जनजाति समुदायको उपस्थिति रहने भए पनि स्थानको सीमितताले गर्दा यसपटक तीन प्रमुख समुदायका मौलिक घरलाई विशेष आकर्षणका रूपमा उतारिएको हो।
ती घरको दैलो उघारेर भित्र छिर्दा कुनै आधुनिक सहरमा होइन, दशकौँ पुरानो मौलिक ग्रामीण परिवेशमा पुगेको अनुभूति हुन्छ।
भित्तामा झुन्ड्याइएका पुराना कृषि औजार, कोठाको कुनामा सजिएका माटोका घ्याम्पा, काठका ठेकी र बुनाइ सामग्रीले पुर्खाको श्रम र सिर्जनाको कथा पालैपालो सुनाइरहेका लाग्छन्।
सांस्कृतिक घर निर्माण समितिका संयोजक क्याप्टेन सोमबहादुर थापाका अनुसार करिब ३० हजार रुपियाँको लागतमा तयार पारिएका यी संरचनाको मूल्य पैसाभन्दा धेरै संस्कृतिसँग जोडिएको अमूर्त सम्पदा हो।
यसले पर्यटकलाई आकर्षित गर्नुका साथै नयाँ पुस्तालाई आफ्ना पुर्खाको जीवनशैली र औजारबारे बुझ्ने खुला पाठशालाको काम गर्ने थापाको भनाइ छ।
नमुना घरभित्र छिर्ने जो कोहीले पनि ती समुदायमा प्रचलित घरायसी भाँडाकुँडा, परम्परागत औजार र रीतिरिवाजको सुगन्ध महसुस गर्न पाउने छन्।
महोत्सव मुल समारोह समितिका संयोजकका सनम तामाङले आधुनिकताको चपेटामा परेका मौलिक संस्कृतिलाई जोगाएर नयाँ पुस्तामा हस्तान्तरण गर्नु नै महोत्सवको मूल मर्म रहेको बताउनु भयो।
माघ ५ गतेसम्म चल्ने यस महोत्सवबाट सङ्कलित रकमले आदिवासी जनजाति सङ्ग्राहालय निर्माण गर्ने आयोजकको दीर्घकालीन लक्ष्य छ।
महोत्सवमा नमुना घरका अतिरिक्त सांस्कृतिक झाँकी, जातीय नृत्य र स्थानीय हस्तकलाका सामग्रीको समेत प्रदर्शनी रहने छ। सद्भाव र एकताको सन्देश बोकेको यो सांस्कृतिक मेलाले तनहुँको पर्यटन प्रवर्धन समेत नयाँ इँटा थप्ने अपेक्षा गरिएको छ।