गुणबहादुर रोका
सुलीकोट, पुस २३ गते । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका सात सयभन्दा बढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । गाउँ वातावरण नेपाल नामक संस्थाले बुधबार गाउँपालिका भित्रका विभिन्न सात वटा विद्यालयका सात सयभन्दा बढी विद्यार्थीलाई ट्रयाकसुट, ट्राउजर र टोपी वितरण गरिएको हो ।
गाउँपालिका भित्रका ७ वटा विद्यालयका विद्यार्थीलाई गाउँ वातावरण नामक संस्थाले माइकोट माध्यमिक विद्यालय ताकुकोटका १४३ जना, माझथर माध्यमिक विद्यालय स्वाँराका ३६५ जना, विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।
त्यस्तै भगवती आधारभूत विद्यालय मान्द्रेका ७६ जना, चन्द्रकला आधारभूत विद्यालय आरुखर्कका ६७ जना र मुलदेवी आधारभूत विद्यालय ग्याजी हुडी खोला फाँटका ३३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको बारपाक सुलिकोट गाउँपालिकाले जनाएको छ ।
त्यस्तैगरी धर्मवती आधारभूत विद्यालय भालु स्वाँराका १३ र नारदपोखरी आधारभूत विद्यालय बारपाकका सात जना विद्यार्थीलाई पनि न्यानो कपडा वितरण गरिएको गाउँ वातावरण नेपालले जनाएको छ ।
जिल्लाको बारपाक सुलिकोट गाउँपालिकामा चिसो बढेसँगै आर्थिक अवस्था कमजोर र अपाङगता, अशक्त विद्यार्थी धेरै भएकाले सामाजिक सङ्घ संस्थाको सहयोगले विद्यार्थीलाई निकै राहात पुगेको पालिकाको शिक्षा शाखाका प्रमुख भीमनारायण श्रेष्ठको भनाइ छ ।
पालिकाभित्रका विद्यालयका प्राधानध्यापकहरूले विद्यार्थीमा दिइने सहयोगले विद्यार्थीको मनाबेल बढ्ने र नियमित पठनपाठनमा सकारात्मक प्रभाव पर्ने बताएका छन् ।
सहयोग सामग्री पाएपछि विद्यार्थी उत्साहित देखिन्थे । अभिभावकहरूले पनि सहयोग प्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक संस्थाहरूको सक्रियाताले विपन्न विद्यार्थीको भविष्य उज्यालो हुने बताएका छन् ।