नवीनराज कुइँकेल
लमजुङ, पुस २० गते । नेकपा (एमाले) लमजुङले प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङसहित ६ जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको जिल्ला कमिटी बैठकले उपाध्यक्ष गुरुङसहित ६ जनाको नाम सिफारिस गरेको हो ।
सिफारिस हुनेमा केन्द्रीय सदस्यहरु जमीन्द्रमान घले, कृष्णप्रसाद अधिकारी, भगवती थापा (कल्पना), नेकपा एमाले गण्डकी प्रदेशका सचिव धनञ्जय दवाडी र एमाले गण्डकी प्रदेश सचिवालय सदस्य लक्ष्मीदेवी अधिकारी रहनुभएको एमाले लमजुङका अध्यक्ष राजकुमार विष्टले जानकारी दिनुभयो ।
उपाध्यक्ष गुरुङ यसअघि २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा लमजुङबाट निर्वाचित हुनुभएको थियो । उहाँले काँग्रेस माओवादी गठबन्धनका उम्मेद्वार तत्कालीन नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मत अन्तरले पराजित गर्नुभएको थियो । निर्वाचित गुरुङले ३४ हजार नौ सय ६९ मत प्राप्त गर्नुभएको थियो ।
सिफारिस हुनुभएका घले २०७० मा लमजुङको क्षेत्र नम्बर १ को ‘क’ बाट सविधानसभामा निर्वाचित हुनुभएको थियो भने प्रदेश सचिव धनञ्जय दवाडी २०७४ मा सोही क्षेत्रबाट गण्डकी प्रदेशसभामा निर्वाचित हुनुभएको थियो । अधिकारी २०७९ को निर्वाचनमा गण्डकी प्रदेशसभा सदस्यमा उम्मेदवार हुनुहुन्थ्यो । उहाँ गण्डकी प्रदेशका बनमन्त्री भेषबहादुर पौडेलसँग पराजित हुनुभएको थियो ।
नेकपा एमालेको समानुपातिक सूचीमा लमजुङबाट महिलातर्फ अखिल नेपाल महिला सङ्घको केन्द्रीय अध्यक्ष टुकाभद्र हमाल र जनजातितर्फ प्रेमबहादुर घले उमेद्वारमा सूचीकृत हुनुहुन्छ ।