साहारा लिम्बू
फुङलिङ, पुस २० गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी फागुन २१ गते हुने निर्वाचन विगतको भन्दा अलिक फरक रहेको बताउनुभएको छ । गृहजिल्ला ताप्लेजुङको फुङलिङ बजार पुग्नुभएका भट्टराईले यस्तो बताउनुभएको हो ।
प्रेस चौतारी नेपाल ताप्लेजुङको आयोजनामा आइतबार सम्पन्न भएको पत्रकार सम्मेलनमा बोल्नुहुँदै पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका भट्टराईले आगामी फागुन २१ गते हुने निर्वाचनले विश्वस्त ढङ्गले लोकतन्त्रको स्थायित्व गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘अहिले लोकतन्त्रमाथि हमला भएको छ । सात सालदेखि अन्तिम भन्दै आएको क्रान्ति अझै अन्तिम हुन सकेको छैन, त्यसैले लोकतन्त्रको रक्षाको एउटा स्थायित्व र विश्वासिलो लोकतन्त्रका लागि यो निर्वाचन माइलस्टोन हो ।’’
जनताका प्रतिनिधिले बनाएको संविधान माथि हमला भएको उहाँको भनाइ छ । त्यसैले संविधानलाई पुनः जीवित गर्न यो निर्वाचनको अर्को महत्त्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । त्यसैले यो संविधानको रक्षको लडाइमा लोकतन्त्रका पक्षधरलाई विजय गराउनुभयो उहाँको माग थियो ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट भट्टराईसहित पाँच जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको एमाले जिल्ला कमिटी बैठकले केन्द्रीय सदस्यद्वय तिलकुमार मेन्याङ्बो र क्षितिज थेबे, टङ्क आङ्बुहाङ र भीमादेवी ओझाको नाम सिफारिस गरेको हो ।