अमेरिका, पुस २० गते । भेनेजुएलामा अब थप सैन्य कारबाही नहुने भएको छ । अमेरिकी रिपब्लिकन सिनेटर माइक लीले विदेशमन्त्री मार्को रुबियोसँगको टेलिफोन संवादमा सोबारे जानकारी गराउनुभएको हो ।
रुबियोका अनुसार निकोलस मदुरो अमेरिकी हिरासतमा रहेकाले अब भेनेजुएलामा थप कारबाहीको आवश्यकता रहनेछैन । मदुरोले अब संयुक्त राज्य अमेरिकामा फौजदारी अभियोगमा अदालती सुनुवाइको सामना गर्नुहुनेछ ।
उटाहका सिनेटर लीका अनुसार यो कदम सम्भवतः अमेरिकी कर्मचारीहरूलाई वास्तविक वा आसन्न आक्रमणबाट जोगाउन संविधानको धारा २ अन्तर्गत राष्ट्रपतिको अन्तर्निहित अधिकारभित्र पर्दछ ।
यद्यपि सिनेटर लीले ट्रम्प प्रशासनको भेनेजुएलाविरुद्धको यस कारबाहीको औचित्यमाथि प्रश्नसमेत उठाउनुभएको छ । उहाँले युद्धको घोषणा वा सैन्य बल प्रयोगको स्पष्ट अधिकार बिना गरिएको यस कदमको संवैधानिक आधारबारे थप बुझ्न आफू उत्सुक रहेको बताउनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल
