• १८ पुस २०८२, शुक्रबार

धनुषाको मिथिला नगरपालिकामा करदाता सेवा सुरु

blog

मिथिला नगरपालिकाको कार्यालय । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, पुस १८ गते । धनुषाको मिथिला नगरपालिकामा करदाता सेवा कार्यालय सञ्चालन हुने भएको छ । नेपाल सरकारको करदाता सेवा स्थानीय तहबाट दिने निर्णय अनुसार यस पालिकामा करदाता कार्यालय सञ्चालन हुने भएको हो । 

नगर प्रमुख महेन्द्र महतोले मिथिला नगरपालिकामा करदाता सेवा कार्यालय सञ्चालन गर्न नगरपालिका र आन्तरिक राजस्व विभागबीच सम्झौता भएको बताउनुभयो । उहाँले मधेश प्रदेशमा स्थानीय तहको कार्यालयबाट आन्तरिक राजस्व सेवा सञ्चालन गर्ने मिथिला नगरपालिका पहिलो स्थानीय तह बनेको दावी गर्नुभयो । 

नगर प्रमुख महतोले आउँदो सातादेखि आन्तरिक राजस्व कार्यालय औपचारिक रूपमा सञ्चालनमा आउने बताउनुभयो । कार्यालय सञ्चालनमा आएपछि यस नगरपालिकाभित्रका व्यवसायी, उद्योगी तथा सरोकारवालाले करसम्बन्धी सेवा सहज र छिटो पाउने उहाँको भनाइ छ ।

यसअघि कर बुझाउन, कर दर्ता, विवरण अद्यावधिक र करसम्बन्धी परामर्शलगायत सेवाका लागि जनकपुरस्थित आन्तरिक राजस्व कार्यालय पुग्नुपर्ने बाध्यता थियो । त्यस कारण समय र खर्च बढ्ने हुँदा  व्यवसायी तथा सर्वसाधारणलाई समस्या हुने गरेको थियो । अब भने नगरपालिकाको कार्यालयबाट करदाता सेवा उपलब्ध हुने हुँदा समय र खर्चको बचत हुने नगर प्रमुख महतोको भनाइ छ । 

उहाँले नागरिकलाई सेवा लिन टाढा जानुपर्ने बाध्यता हटाउने उद्देश्यले स्थानीय तहमा विभिन्न सरकारी सेवा विस्तार गर्दै आएको बताउनुभयो । उहाँले मालपोत र नापी कार्यालय विगत डेढ वर्षदेखि मिथिला नगरपालिकाको सदरमुकाम ढल्केवरमा सञ्चालनमा रहेको बताउँदै इलाका प्रशासन कार्यालय स्थापनाका लागि पहल गरिरहेको जानकारी दिनुभयो ।