• १८ पुस २०८२, शुक्रबार

अन्नपूर्ण संरक्षण क्षेत्रमा तीन लाख पर्यटक

blog

यदुप्रसाद भट्ट
मनाङ, पुस १८ गते ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा यस वर्ष पर्यटक आगमनले नयाँ इतिहास रचेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२५ मा कुल दुई लाख ९९ हजार आठ सय ३० जना पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । यसमध्ये एक लाख २२ हजार दुई सय दुई जना विदेशी तथा एक लाख ७७ हजार छ सय २८ जना स्वदेशी पर्यटक रहेका छन् ।

एक्यापका अनुसार यो सङ्ख्या गत वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो । सन् २०२४ मा अन्नपूर्ण संरक्षण क्षेत्रमा करिब दुई लाख ६० हजार पर्यटक पुगेका थिए । पछिल्लो एक वर्षमा झण्डै ४० हजारले पर्यटक सङ्ख्या बढ्नुले क्षेत्रीय पर्यटन व्यवसाय र संरक्षण प्रयासमा सकारात्मक प्रभाव पारेको एक्यापले जनाएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङका कार्यालय प्रमुख ढकबहादुर भुजेलका अनुसार विदेशी पर्यटक आगमनमा भएको वृद्धि अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन क्षेत्र क्रमशः पुनरुत्थान हुँदै गएको संकेत हो । यसैबिच मनाङमा पर्यटक आगमन उत्साहजनक रूपमा वृद्धि भएको छ । संसारकै उत्कृष्ट पदमार्ग गन्तव्यहरूमध्ये एकका रूपमा परिचित चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा सन् २०२५ मा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । एक्याप मनाङको तथ्याङ्कअनुसार सन् २०२५ मा जम्मा ३८ हजार ७७ जना विदेशी पर्यटकले मनाङ भ्रमण गरेका छन् ।

यसमा १५ हजार २७० महिला, २२ हजार ७९७ पुरुष तथा अन्य लिङ्गका १० जना पर्यटक रहेका छन् । अघिल्लो वर्ष २०२४ मा भने ३० हजार ८६६ जनाले मनाङ भ्रमण गरेका थिए । २०२४ को तुलनामा २०२५ मा पर्यटक आगमन २३.३६ प्रतिशतले वृद्धि भएको छ । पदमार्ग, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विशेषताका कारण मनाङप्रति पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको स्थानीय पर्यटन व्यवसायीहरू बताउँछन् ।

युरोप, अमेरिका, अस्ट्रेलिया, चीन, भारत, जापान तथा दक्षिण कोरियाबाट बढी सङ्ख्यामा पर्यटक आएको एक्यापको तथ्याङ्कमा उल्लेख छ । अन्नपूर्ण सर्किट पदमार्ग, तिलिचो ताल, थोराङ्ला पास, मनाङ उपत्यका तथा नार–फु क्षेत्र पर्यटकका मुख्य आकर्षण बनेका छन् ।

यसैगरी स्वदेशी पर्यटकको सङ्ख्या पनि उल्लेखनीय रूपमा बढेको छ । आन्तरिक पर्यटन प्रवर्धन, सडक पहुँच सुधार, सामाजिक सञ्जालको प्रभाव तथा साहसिक पर्यटनप्रति बढ्दो चासोका कारण नेपाली पर्यटकको आकर्षण बढेको सरोकारवालाको भनाइ छ । विशेषगरी तिलिचो ताल र मनाङ क्षेत्र आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्ने गर्छ ।

पर्यटक आगमनमा वृद्धिसँगै मनाङ, मुस्ताङ, कास्की, लमजुङ र गोरखा जिल्लाका स्थानीय बासिन्दाको आर्थिक क्रियाकलापमा सुधार आएको छ  । होटल, लज, रेस्टुरेन्ट, ट्रेकिङ गाइड, भरिया तथा यातायात व्यवसायमा आश्रित हजारौँ स्थानीयले प्रत्यक्ष रोजगारी र आम्दानीको अवसर पाएका छन् ।

यद्यपि पर्यटक सङ्ख्या बढ्दै जाँदा फोहोर व्यवस्थापन, जैविक विविधता संरक्षण, पानीका स्रोत र स्थानीय संस्कृतिको जगेर्ना चुनौतीका रूपमा देखिन थालेका छन् । एक्यापले स्थानीय तह, उपभोक्ता समिति र पर्यटन व्यवसायीसँग सहकार्य गर्दै दिगो पर्यटन व्यवस्थापनलाई प्राथमिकता दिएको जनाएको छ ।

एक्यापका अनुसार आगामी दिनमा पर्यटक सेवा सुधार, वातावरणमैत्री पूर्वाधार विकास तथा नियमको प्रभावकारी कार्यान्वयन गर्न सके अन्नपूर्ण संरक्षण क्षेत्रले अझ ठुलो सङ्ख्यामा पर्यटक आकर्षित गर्ने विश्वास लिइएको छ । यसले राष्ट्रिय अर्थतन्त्रमा समेत उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।