सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) पुस १८ गते । धनकुटाको साँगुरीगढी गाउँपालिका–१, स्थित बुढीमोरङमा रहेको प्राचीन मोराङ्गे भनेर चिनिने मोराहाङ राजासँग जोडिएका अवशेष संरक्षणविहीन हुँदा ओझेलमा परेको छ । राजाको दरबार क्षेत्रमा र अपराधीलाई सजाय दिने क्षेत्र सुलीकोटमा संरक्षण अभावमा केही अवशेष पाइन छाडेसँगै दरबार ओझेलमा परेको हो ।
धनकुटाको साँगुरीगढी गाउँपालिका स्थित बुढीमोरङ–१ र २ मा पर्ने मोरङे राजाले शासन गरेको स्थान रहेको पाइन्छ । राजाकी जेठी श्रीमतीको सम्बोधनबाट नै बुढीमोरङ आसपासका गाउँको नाम रहन गएको इतिहास पाइन्छ । मोरङे राजाले आफ्नो राज्यमा अपराध र राज्यद्रोह गर्नेलाई सुली चढाएर मृत्युदण्ड दिने स्थान सुलीकोट रहन गएको पाइन्छ ।
स्थानीय मिक्तोक इवाहाङका अनुसार बेलाबखत अवैधानिक उत्खनन गर्न खोजिएको सुलीडाँडा क्षेत्र वर्षौँदेखि स्थानीयको निगरानीमा भए पनि यसको संरक्षणको अभाव भएको बताउनु हुन्छ । त्यसोत हालसम्म कोही कसैबाट यसको संरक्षण नभएकाले सबै तहका सरकारले तत्काल संरक्षणको काम उहाँको भनाइ रहेको छ ।
लिम्बू भाषामा हाङपाङ यक भनेर चिनिने यस स्थानका भग्नावशेष संरक्षण र प्रचार अभावमा गुमनामझै बनेको अवस्था रहेका छन् । यस स्थानमा ती राजाले घोडा बाध्न प्रयोग गर्न जमिनमा गाडेका ढुङ्गाका खम्बा अझै संरक्षणविहीन अवस्थामा छन् । निजी जमिनमा रहेको यस स्थानमा केही वर्षअघि मकै गोडमेल गर्दा तत्कालीन राजाले प्रयोग गर्ने चाँदीका सिक्का, गाडधन भेटिएको थियो । संरक्षण गर्नु पर्ने ठाउँमा गाउँपालिकाले बजेटको अभाव भन्दै संरक्षणका लागि काम गर्न नगरेको स्थानीय शिवकुमार इङनामले बताउनु हुन्छ ।
ऐतिहासिक स्थान भए पनि निजी जमिनमा रहेकाले संरक्षणमा समस्या भएको पाइन्छ । स्थानियले यसको संरक्षण गर्नुपर्ने माग समेत गर्दै आएका छन् । यता साँगुरीगढी गाउँपालिकाले भने बजेटको अभावका कारण हुँदा थप काम गर्न नसकिएका जनाएको छ । संरक्षण अवश्यक रहेको र यस क्षेत्रको संरक्षणका लागि डिपिआर तयार गर्न लागिएको पालिकाले बताएको छ ।