• १८ पुस २०८२, शुक्रबार

तस्करी नियन्त्रणको माग गर्दै प्रदेश मन्त्रीलाई ज्ञापन पत्र

blog

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री अग्रवाललाई ज्ञापन पत्र बुझाउँदै । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, पुस १८ गते ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घले तस्करी नियन्त्रणको माग गर्दै लुम्बिनी प्रदेश सरकारलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमार्फत सात बुँदे ज्ञापन पत्र पठाएको छ ।

सङ्घ स्थापनाको ५८ औं वार्षिकोत्सवको अवसरमा बिहीबार नेपालगन्जमा आयोजित कार्यक्रममा सङ्घका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओलीले लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाललाई सात बुँदे ज्ञापन पत्र बुझाउनु भयो ।

ज्ञापन पत्रमा सीमावर्ती बजार रूपैडिहामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले जस्तै जमुनाहा नाकामा पनि परिचय पत्रको चेकजाँच गर्ने व्यवस्था लागू गर्नुपर्ने, सम्भावित तस्करीका नाकामा ब्यारिएर र शसस्त्र प्रहरीको अस्थायी पोस्ट राख्नुपर्ने, पाइडल रिक्सालाई निर्बाध सीमा वारपार रोक्नु पर्ने, सशस्त्र द्वन्द्वको बेला बन्द गरिएका साइगाउँ, भनघोटना, खडैचा, उढरापुर, भगवानपुर, नरैनापुर र सुइँयाबघौडाका छोटी भन्सारहरु पुनः सञ्चालन गर्नु पर्ने माग गरिएको छ ।

यसैगरी, जमुनाहा नाकामा स्क्यानर मेसिन राखेर अनिवार्य रूपमा चेकजाँचको व्यवस्था गर्नु पर्ने र नेपालगन्ज भन्सारले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसकिरहेको बारे अध्ययन गरी अवैध आयात निर्यातमा संलग्न प्रहरी, प्रशासन र भन्सार कर्मचारीहरूलाई कारबाही गर्नु पर्ने माग सङ्घले गरेको छ ।

ज्ञापन पत्र बुझ्दै मन्त्री अग्रवालले तस्करी र क्यारिङ नियन्त्रण गर्न नसके प्रहरी प्रशासनलाई कारबाही गर्ने आश्वासन दिनु भयो । उहाँले आफुले प्रहरी र प्रशासनका उच्च अधिकारीहरूलाई सो बारेमा बारम्बार ताकेता गरिरहेको जनाउँदै फेरि पनि तस्करी रोक्न निर्देशन दिने बताउनु भयो ।

मन्त्री अग्रवालले सीमा नाकामा भइरहेको तस्करी र अवैध आयातप्रति आफु निकै गम्भीर रहेको जनाउँदै सो बारेमा सङ्घीय सरकारको गृृह मन्त्रालय र आइजिपीसँग पनि कुरा गर्ने बताउनु भयो ।

लुम्बिनी प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठ, सङ्घका पूर्वअध्यक्षहरू कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्यले नाकामा कडाई नगर्दा नेपालगन्जको व्यापार व्यवसाय धराशायी बन्दै गएको जनाउँदै तस्करी र अवैध आयात रोक्नु अति आवश्यक भएको बताउनु भयो ।

सोही अवसरमा नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्षहरू कन्हैयालाल टन्डन, शतिशचन्द्र अग्रवाल, कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्यलाई सम्मान गरिएको थियो ।

सङ्घलाई अगाडि बढाउन पूर्व अध्यक्षहरूले गरेको योगदानको कदर गर्दै उहाँहरूलाई सम्मान गरिएको सङ्घका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओलीले बताउनु भयो ।