• १८ पुस २०८२, शुक्रबार

उपल्लो मुस्ताङमा भ्रमण गर्ने विदेशी पर्यटक घटे

blog

उपल्लो मुस्ताङको भ्रमण गरेका विदेशी पर्यटक । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 
मुक्तिनाथ (मुस्ताङ), पुस १८ ।
उपल्लो मुस्ताङमा सन् २०२४ को तुलनामा विदेशी पर्यटक घटेका छन् । यसवर्ष अक्टोबरमा उपल्लो क्षेत्रको भ्रमण गर्ने तयारीमा रहेका विदेशी पर्यटक जेनजी आन्दोलन तथा जेलबाट कैदीबन्दी भागेपछि असुरक्षित महसुस गर्दै बुकिङ रद्द गरेकाले पर्यटकको आगमनमा कमी आएको हो ।

सन् २०२४ मा चार हजार ९३ जनाले भ्रमण गरेकामा सन् २०२५ मा ३८ सय ७२ जनाले भ्रमण गरेको अन्नपूर्ण संरक्षण आयोजना इलाका कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलले बताउनु भयो ।

एक वर्षको अवधिमा दुई सय २१ जना विदेशी पर्यटक घटेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय, लोमान्थाङअन्तर्गत पर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, छुसाङ, उपल्लो मुस्ताङमा पर्ने लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड गाउँपालिका विभिन्न पर्यटकीयस्थलमा अघिल्लो वर्ष भ्रमण गरेकामा सबैभन्दा धेरै यूरोपेली देश फ्रान्सका तीन सय ६५ जना रहेका छन् ।

सन् २०२४ मा पनि फ्रान्सबाट चार सय ३६ जनाले भ्रमण गरेका थिए । सन् २०२० मा ६२ जना, सन् २०२१ मा तीन सय ३७ जना र सन् २०२३ मा तीन हजार चार सय ६४ जना रहेको एक्याप इलाका कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलले बताउनु भयो ।

पौडेल भन्नु हुन्छ, ‘उपल्लो क्षेत्रमा आउने पर्यटक नाकासम्म पुग्छन्, धेरै दरबार र गुफा गुम्बारमा रमाउँछन्, माथिल्लो क्षेत्रमा असोज र वैशाखमा धेरै पर्यटक भित्रिन्छन् ।’’

तल्लो मुस्ताङको वारागुङ मुक्तिक्षेत्रको कागबेनीबाट उपल्लो मुस्ताङको भ्रमणमा धेरै पर्यटक आउनेमा फ्रान्स, अमेरिका, जर्मनी, इटाली लगायतका यूरोपेली राष्ट्रका रहेका छन् । यसवर्ष असोज महिनामा आउने धेरै पर्यटक आगमनको मुखमै जेनजी आन्दोलनका कारण विभिन्न देशबाट नेपाल भित्रिने पर्यटकले बुकिङ रद्द गरेकाले सङ्ख्या केही घटेको छ ।

असोज, कात्तिक महिनामा घुमफिर तथा वैशाख महिनामा उपल्लो मुस्ताङमा तिजी पर्वको अवलोकन र असोज महिनामा भ्रमणसहितको योजना बनाएर विदेशी पर्यटक उपल्लो मुस्ताङ जाने गरेका छन् ।

अर्धनिषेधित क्षेत्रमा आउने सार्क राष्ट्रका पर्यटकले प्रवेश शुल्क एक हजार, अन्य राष्ट्रका पर्यटकले तीन हजार एक्यापलाई तिर्नुपर्छ । विदेशी पर्यटकले अध्यागमन विभागबाट जति दिन घुमेको सोही अवसरमा प्रतिदिन एक सय डलर शुल्क तिर्नुपर्छ । १० दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन ५० डलर शुल्क तिर्नुपर्ने नियम रहेको छ । विगतमा एकैपटक १० दिनका लागि पाँच सय डलर तिर्नुपर्ने बाध्यतालाई नेपाल सरकारले हटाएपछि अब पहिलाजस्तो लामो बसाइ नहुनसक्ने भन्दै स्थानीय पर्यटन व्यवसायीले शुल्क घटाउन र समयअवधि नतोक्न माग गर्ने गरेका छन् । पर्यटकले सङ्केत चिह्न हेरेर आफ्नो गन्तव्य पहिचान गरेर यात्रा गर्न सहज बनाउन एक्याप लोमान्थाङले आफ्नो क्षेत्रमा सूचना पाटी, साइन पोस्टिङ र होडिङ बोर्ड राखेको छ ।

उपल्लो मुस्ताङको भ्रमणमा जाने विदेशी पर्यटक कोरला नाका क्षेत्रमा भन्दा पनि प्राचिन मानवबस्ती भएका गुफा, गुम्बा, लोमान्थाङ दरबार, प्राचिन शैलीका माटोको बस्ती, मौलिक रहनसहन, संस्कृति, जीवनशैलीमा समय बिताउने गरेका छन् । नेपाल सरकारले सन् १९९२ मा उपल्लो मुस्ताङमा पर्यटकलाई भ्रमणका लागि खुला गरेको थियो । यता अर्थनिषेधित क्षेत्रमा तोकिएको शुल्कका कारण पर्यटक घटेकाले सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले शुल्क घटाउनुपर्ने माग बराम्बार गर्ने गरेका छन् ।