• १८ पुस २०८२, शुक्रबार

भिक्टोरिया क्रस विजेता रानाको सालिक स्थापना

blog

रेसुङ्गा समाचारदाता

रेसुङ्गा (गुल्मी), पुस १८ गते । भिक्टोरिया क्रस विजेता कर्णबहादुर रानाको सालिक स्थापना गरिएको छ । प्रथम विश्वयुद्धमा जर्मन सेनाविरुद्धको लडाइँमा रानाले प्रदर्शन गरेको साहस, बलिदान र कर्तव्यनिष्ठताका कारण बेलायत सरकारले भिक्टोरिया क्रस प्रदान गरेको थियो । लाहुरेको गाउँ भनेर चिनिने यहाँको भार्सेमा लाहुरेको इतिहास जीवित राख्न र अध्ययन केन्द्र बनाउन भूपू गोर्खा ग्यालरी र भार्से ग्यालरी निर्माण गरिएको छ । 

भार्से ग्यालरीअगाडि कर्णबहादुर रानाको सालिक स्थापना गरिएको हो । कालीगण्डकी गाउँपालिका–७, फोक्सिङ निवासी राना सन् १८९८ मा जन्मिनुभएको थियो । सन् १९७३ मा ७४ वर्षको उमेरमा मृत्यु भएको थियो । थापाले १९ वर्षको कलिलो उमेरमा बेलायतका राजा जर्ज पाँचौँबाट भिक्टोरिया क्रस पाउनुभएको थियो । कर्णबहादुर गोर्खा वीरताको अन्तर्राष्ट्रिय प्रतीक भएको भूपू सुबेदार मेजर अनेर क्याप्टेन पीताम्बर थापाले बताउनुभयो । उहाँको सालिक स्थापनाले सबै दिवङ्गत तथा जीवित लाहुरेका लागि सम्मान भएको थापाले बताउनु भयो । 

रानाको सालिक र ग्यालरी निर्माण गरेर इतिहास जोगाउने योजनाका परिकल्पनाकार लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीप्रति आभार प्रकट गर्नुभयो । भार्से भूपू सङ्घको नेतृत्वमा करिब १६ लाख रुपियाँ खर्च गरेर रानाको सालिक निर्माण गरिएको छ । उहाँको सालिक यहाँका मूर्तिकार यमबहादुर थापाले निर्माण गर्नुभएको हो । 

सत्यवती गाउँपालिका–८, भार्से लाहुरे गाउँ प्राकृतिक, सांस्कृतिक र पर्यटकीय हिसाबले मात्रै नभएर ऐतिहासिक रूपले समेत अध्ययन केन्द्र हो । भार्सेबाट प्रथम र दोस्रो विश्व युद्ध लड्नेहरूका फोटो र इतिहासको भूपू गोरखा ग्यालरीमा राखिएको छ भने भार्सेबाट गोरखा, भारत र नेपाली लाहुरे तथा सामाजिक अगुवाको फोटोसहितको इतिहास भार्से ग्यालरी निर्माण गरिएको छ । 

भार्सेबाट प्रथम विश्वयुद्ध लड्ने ८४ जना र दोस्रो विश्वयुद्ध लड्ने १७८ जना रहेको बताइएको छ । भूपू गोरखा ग्यालरीमा पहिलो र दोस्रो विश्वयुद्ध लडेका अहिलेसम्म ३४ जना दिवङ्गत व्यक्तिको तस्बिर र सङ्क्षिप्त विवरण राखिएको छ । 

भार्सेमा जन्मिएर अहिले हङकङमा रहेका लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले आफ्नै अगुवाइमा भार्से भूपू गोरखा र भार्से ग्यालरी स्थापना गर्नुभएको छ । बुढाथोकी आफैँले ग्यालरीका लागि करिब ५७ लाख रुपियाँ लगानी गर्नुभएको छ ।