• १८ पुस २०८२, शुक्रबार

ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन न्यानो कपडा वितरण

blog

ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिँदै । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
रुकुमपश्चिम, पुस १८ गते ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिका भित्रका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । यहाँका १४ वटै वडाका ७७ वर्ष माथिका ५७५ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडाअन्तर्गत ब्लाङ्केट वितरण गरिएको हो ।

नेपाल ख्रिष्टियन राहत सेवाको सहयोग तथा मुसीकोट नगरपालिकाको समन्वयमा सम्बन्धित वडा कार्यालयबाटै ब्लाङ्केट वितरण गरिएको हो । राहत सेवा केन्द्रका कोषाध्यक्ष मुकुन्दकुमार शर्माका अनुसार ज्येष्ठ नागरिकलाई चिसोबाट जोगिन सहज होस् भन्ने उद्देश्यका साथ न्यानो कपडा उपलब्ध गारइएको हो । उहाँले नगरपालिकासँगको समन्वयमा ४७८ वटा र विभिन्न सङ्घ सस्थामार्फत ९७ वटा ब्लाङ्केट ५७५ जना ज्येष्ठ नागरिकलाई उपलब्ध गराइएको बताउनु भयो ।

नगरपालिकाका अनुसार वडा नम्बर १ का ५७ जना, २ का ३४ जना, ३ का १९ जना, ४ का ३५ जना, ५ का २७ जना, ६ का २६ जना र वडा नम्बर ७ का ४० जना ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको हो । त्यसैगरी, वडा नम्बर ८ का १६ जना ९ का २८ जना, १० का ३४ जना, ११ का ५५ जना, १२ का ३८ जना, १३ का ४६ जना र १४ का २३ जना ज्येष्ठ नागरिकहरूलाई सम्बन्धित वडा कार्यालयमार्फत ब्लाङ्केट उपलब्ध गराइएको हो ।

मुसीकोट नगरपालिकाले नगरभरिका ज्येष्ठ नागरिकहरूलाई चिसोबाट जोगाउन न्यानो कपडा वितरण भएको जनाएको छ । चिसो बढीरहेको बेलामा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर कपडा वितरण भएको नगरपालिकाको भनाइ छ । मुसीकोट नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष धिरण सिर्पालीले ७७ वर्ष माथिका ज्येष्ठ नागरिक सबैलाई पुग्ने गरी एक एक वटा न्यानो कपडा वडा कार्यालयबाट हस्तान्तरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सामाजिक सुरक्षा भत्ता पाउने सबै ज्येष्ठ नागरिकहरू यस सहयोगबाट प्रत्यक्ष लाभान्वित हुनु भएको छ । न्यानो कपडा वितरण कार्यक्रममा मुसीकोट नगरपालिकाका उपप्रमुख बिमल कुमार पुन, ज्येष्ठ नागरिक मञ्चका नगर अध्यक्ष लक्ष्मणकुमार शर्मा, सम्बन्धित वडाका वडाध्यक्ष तथा जनप्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

बालबालिकालाई शैक्षिक सामग्री वितरण

यसैगरी, मुसीकोट नगरपालिका–८ स्थित जनचेतना आधारभूत विद्यालय लसुनबारीमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराइएको छ । नगर उपप्रमुख बिमलकुमार पुनले विद्यालयमै पुगेर बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

राप्ती समाज युकेको सहयोगमा बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको उपप्रमुख पुनले जानकारी दिनु भयो । उहाँका अनुसार विद्यालयमा अध्ययनरत बालबालिकालाई झोला, कापी लगायतका शैक्षिक सामग्री उपलब्ध गराइएको हो । उहाँले बालबालिकालाई अत्यावश्यक रहेका सामग्रीहरू सहयोगका लागि राप्ती समाज युकेलाई अनुरोध गरिएपछि उक्त सहयोग प्राप्त भएको जानकारी दिनु भयो ।