बुटवल समाचारदाता
बुटवल, पुस १८ गते । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले कञ्चन गाउँपालिका–४, धवलागिरि चोकका १७ वर्षीय ईशान शर्माको मृत्यु जिपको ठक्करबाट भएको बताए पनि परिवारजनले अझै विश्वास गरेका छैनन् । परिवारजनले घटना रहस्यमय भन्दै थप अनुसन्धानको माग गरी सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
ईशानको शव अझै लुम्बिनी प्रादेशिक अस्पतालको शव दाहगृहमा रहेको छ । ईशानका घरपरिवारले ईशानको मृत्यु नभई हत्या भएको र प्रहरीले नक्कली चालक खडा गरी दोषीलाई उन्मुक्ति दिने काम गरेको आरोप लगाएका छन् ।
मृतक ईशानकी आमा रमा शर्माले छोरा ईशानको हत्या नै भएकाले घटनाबारे सत्यतथ्य पत्ता लगाउन प्रहरीलाई दबाब दिनु पर्ने भन्दै न्यायका लागि सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो ।
ईशानका बुवा अर्जुन शर्माले प्रहरीले वास्तविक दोषीलाई उन्मुक्ति दिन नक्कली दोषी करार गरेर घटनालाई मोड्न खोजेको भन्दै गुनासो गर्नुभयो । उहाँले आफू पनि सवारी चालक भएको र सवारी साधनको कुन गतिमा कस्तो दुर्घटना हुन्छ भन्ने कुराको सामान्य ज्ञान भएकाले पनि छोरा ईशानको गाडीको दुर्घटनाबाट नभई सुनियोजित रूपमा पूर्वतयारीका साथ हत्या गरिएको दाबी गर्नुभयो ।
ईशानका ठुलोबुवा पुष्पराज शर्माले माथिबाट ढक्कन लगाएको पक्की नालीभित्र ईशानको शव भेटिनु, आँखाको नानी फुट्नु, शरीरभरि निलडाम हुनु र खुट्टा भाँचिएको अवस्था हेर्दा कुनै पनि अवस्थामा दुर्घटना नभएको र योजनासहित हत्या गरिएको बताउनु भयो । उहाँले वास्तविक हत्यारालाई लुकाएर निर्दोष व्यक्तिलाई दोषी देखाई पीडित परिवारलाई अन्यायमा पार्ने काम हुन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
ईशानका आफन्त, छिमेकी र स्थानीयले समेत ईशानको हत्या भएको र हत्यारालाई छिटो सार्वजनिक गर्न माग गरेका छन् । गत पुस २ गते साँझदेखि परिवारबाट सम्पर्कविहीन भएका ईशानको अर्को दिन पुस ३ गते साँझ टाउको पछाडि गम्भीर चोटसहित आँखा फोडिएको अवस्थामा मृत भेटिएका थिए ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुरज कार्कीले ईशानको मृत्यु लु. २ ख. ४९४८ नम्बरको फोर्स कम्पनीको जिपको ठक्करबाट मृत्यु भएको बताउनु भयो । उहाँले जिप नियन्त्रणमा लिई चालक र जिपमा सवार दुई जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको बताउनु भयो ।