नवीनराज कुइँकेल
लमजुङ, पुस १८ गते । कास्की कारागारबाट भागेका दुई जना कैदी लमजुङबाट पक्राउ परेका छन् । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका दुई जना प्रतिवादीलाई लमजुङ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बेँसीसहर नगरपालिका–१०, खासुरबेँसी बस्ने ३५ वर्षीय टेकबहादुर गुरुङ र दोर्दी गाउँपालिका–४, कुप्लिङ बस्ने २८ वर्षीय कुमार विक रहेका छन् । गुरुङ चोरी मुद्दा र विक ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादी हुन् ।
पक्राउ परेका दुबैलाई कास्की कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक अभिषेक पाण्डेले बताउनु भयो ।
जिल्ला कारागार लमजुङको भवन जीर्ण भएसँगै यहाँ रहेका कैदी र थुनुवाहरूलाई तनहुँको दमौली कारागार र कास्की कारागार पठाइएको छ । प्रहरीका अनुसार हालसम्म ४८ जना फरार कैदीबन्दी पक्राउ गरी सम्बन्धित कारागारमा बुझाइएको छ।