वालिङ (स्याङ्जा),पुस १८ गते । स्याङ्जाबाट यस वर्ष रु एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यहाँ उत्पादन भएको सुन्लता थोकमा प्रतिकेजी ५७ का दरले बिक्री भएको छ ।
गत वर्षको तुलनामा यस वर्ष २० करोड बढी मूल्यको सुन्तला उत्पादन भएको हो । गत वर्ष २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष गत वर्षको तुलनामा उत्पादकत्वसमेत बढेको छ । यस वर्ष १६।३७ टन प्रतिहेक्टर उत्पादन भएको छभने गत वर्ष १४।६६ टन प्रतिहेक्टर उत्पादन भएको थियो ।
स्याङ्जा जिल्लामा उत्पादन भएको कुल परिमाणको सुन्तलामध्ये ९० प्रतिशत बिक्री हुने गरेको छभने बाँकी रहेको १० प्रतिशत सुन्तला कोसेली, उपहार तथा घरघरमै खपत हुने गरेको उहाँले बताउनु भयो । यस वर्ष उत्पादन भएका मध्ये २० हजार ८८२ मेट्रिक टन बिक्री योग्य परिमाणको सुन्तला हो ।
स्याङ्जामा गत वर्षको तुलनामा यस वर्ष सुन्तला बगैँचाले ढाकेको क्षेत्रफलमा वृद्धि भएको छ । गत वर्ष दुई हजार २५० हेक्टर क्षेत्रफलमा रहेको सुन्तला बगैँचा यस वर्ष एक सय ५० हेक्टर क्षेत्रफल वृद्धि भई दुई हजार ४०० हेक्टर पुगेको उहाँले जानकारी दिनु भयो ।
गत वर्ष एक हजार ३७० हेक्टर उत्पादनशील क्षेत्रफल रहेको थियो । यस वर्ष उत्पादनशील क्षेत्रफल एक हजार ४२० हेक्टर रहेको छ । हुर्कँदो बगैँचाको क्षेत्रफलसमेत गत वर्षको तुलनामा यस वर्ष एक सय हेक्टर वृद्धि भएको छ । गत वर्ष ८८० हेक्टर रहेकामा यस वर्ष ९८० हेक्टरमा हुर्कँदो सुन्तलाको बगैँचा रहेको छ ।
विसं २०७३/७४ मा स्याङ्जालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ घोषणा गरिएको थियो । आव २०७५/७६ को सुरुआतसँगै स्याङ्जालाई सुपरजोन घोषणा गरिएको थियो । सुन्तलाका क्षेत्रमा सुपरजोन घोषणा भई कार्यान्वयनमा आएसँगै जिल्लामा सुन्तला उत्पादनतर्फ किसान थप आकर्षित भएर लागेका छन् ।
स्याङ्जामा सुन्तला व्यवसायलाई मुख्य आम्दानीको स्रोतका रूपमा विकास गर्ने पद्धतिको विकास हुँदै गएको छ । जिल्लाका विभिन्न भागमा निर्वाहमुखी र घरायसी प्रयोजनका लागि गरिँदै आएको सुन्तलाखेतीलाई विस्तार गरी व्यवसायीकरण गर्न थालिएको छ । सुन्तला खेतीलाई प्रमुख आम्दानीको स्रोतका रूपमा विकास गर्नेतर्फ सुन्तला किसानको लहर बढ्दै गएको छ ।
पाखो, भिरालो जमिन तथा बारीमा अन्य रुख बुट्यानलाई फडानी गरी सुन्तला बगैँचा निर्माण गर्ने र अन्य खाद्यान्न उत्पादन हुने जमिनलाई सदुपयोग गरी सुन्तलाका बोट लगाउनेतर्फ अहिले किसान आकर्षित हुँदै गएका छन् ।
जिल्लाको पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, बिरुवा, अर्जुनचौपारी गाउँपालिका सुन्तला उत्पादनको मुख्य पकेट क्षेत्र हुन् । यहाँका सुन्तला काठमाडौँ, बुटवल, पोखरा, नारायणगढलगायत ठुला सहरमा पुग्ने गरेका छन् । स्याङ्जामा उत्पादन भएको सुन्तला खरिद गर्न सिँधै व्यापारी बगैँचामा पुग्ने गरेका छन् । रासस