• १८ पुस २०८२, शुक्रबार

सत्यनारायणलाई डाक्टर बन्ने प्रेरणा आमाबाटै

blog

सत्यनारायणलाई लिखित सम्झौता पत्र दिनु हुँदै उद्योग वाणिज्य सङ्घ सिराहा लहानको अध्यक्ष विकास शारडा । तस्बिर : जीवछ यादव

जीवछ यादव 
लहान, पुस १८ गते ।
दलित कोटाबाट एमबिबिएसमा नाम निकाल्नु भएको सत्यनारायण साफीले डाक्टर बन्ने प्रेरणा आमाबाटै पाएको बताउनु भएको छ । बरियारपटि गाउँपालिका-२, श्रीपुरको २१ वर्षीय साफीले आमा सुनिता साफीको टाउको दुख्ने रोगको उपचार गराउने क्रममा आफूले डाक्टर बन्ने प्रेरणा पाएको बताउनु भयो ।

दृढ इच्छा शक्ति लिएर अगाडि बढे सङ्कल्प पूरा गर्न सकिने बताउनु हुँदै उहाँले भन्नु भयो, ‘‘निरन्तर १३ महिनासम्म दिउँसो मजदुरी र राति पढाइ गरेर एमबिबिएस पढ्न दलित कोटामा नाम निकाल्न सफल भएँ ।’’ सानैदेखि डाक्टर बन्ने सत्यनारायणको सपना थियो ।

लगनशीलताको साथ बरियारपटिस्थित माध्यमिक विद्यालयबाट राम्रो अङ्क प्राप्त गर्दै उहाँ कक्षा उक्लिदै जानु भयो । जब कक्षा ९ मा पुग्नुभयो आमाको टाउको दुख्ने रोगको उपचारमा बिराटनगर भारतको दरभङ्गासम्म गएर उपचार गराउँदा पनि निको नभएपछि मष्तिष्क विभागको डाक्टर नै बन्छु भन्ने प्रण लिएको सत्यनारायणले सुनाउनु भयो ।

‘‘डाक्टर बन्न आफूलाई पढ्नका लागि हौसला दिने तत्कालीन बरियारपटिस्थित जनता माध्यमिक विद्यालय बरियारपटिको अङ्ग्रेजी शिक्षक हाल बरियारपटि गाउँपालिका–३ का वडाध्यक्ष विनोद यादवले एसइईमा राम्रो ग्रेड ल्याउनु पर्छ भन्नु हुन्थ्यो । उहाँकै हौसला र साथले मैले एसइईमा राम्रो ग्रेड ल्याए ।’’ उहाँले भन्नु भयो ।

‘‘कक्षा ११ र १२ विज्ञान विषय लिएर विराटनगरको अरनिको माध्यमिक विद्यालयबाट राम्रै ग्रेडमा उत्तीर्ण भएँ,’’ सत्यनारायणले भन्नु भयो, ‘त्यसपछि एमबिबिएसको तयारीका लागि काठमाडौँ पनि गएँ । काठमाडौँमा लाग्ने खर्च घरबाट तीर्न असमर्थ भयो ।  बुवा माधुरी साफी वैदेशिक रोजगारबाट घर फिर्ता भएपछि आर्थिक अवस्था झन् कमजोर भयो । मैले गाउँमै दिनको नौ घण्टा मजदुरी र राति  नियमित चार घण्टाको तयारीले नाम निकाल्न सफल भएँ ।’’

एउटै उद्देश्य थियो मष्तिष्कको डाक्टर बन्ने सपना, त्यो सपना पूरा गर्न अब असल डाक्टर बन्न होस्टेलमा लाग्ने खर्चा र कापी किताब लगायतको महिनाको खर्च जुटाइ दिन निरन्तर सहयोग भइरहेकाले अब हिम्मत जुटेको सत्यनारायण भनाइ छ । 

कुनै एउटा सानो घटनाले सफलताको द्वार खुल्ने वडाध्यक्ष यादवले सुनाउनु भयो । उहाँको अनुसार विद्यालयमा पढ्ने समयमा अति अनुशासित र कडा मिहिनेत गर्ने सत्यनारायणको डाक्टर बन्ने सपना पूरा गर्ने विश्वास थियो ।

आमा सुनिता साफी र पिता मधुरी साफी असिम छोराको एमबिबिएसमा नाम निस्कोमा खुसी हुँदै मेरो छोरा एक असल डाक्टर बनाउन चौतर्फी आर्थिक सहयोग भएको सुनाउनु भयो । आमा सुनिता भन्नु हुन्छ, ‘‘मेरो टाउको दुःखाइ छोराका लागि डाक्टर बनाउने प्रेरणा भएको अहिले नाम निस्केपछि थाहा पाए । मजदुरी गरेर पनि रातको चार घण्टा पढिरहने सत्यनारायण असल डाक्टर बन्नेमा सबैको सहयोगबाट ढुक्क भएका छौँ ।’’ नाम निस्केपछि घोराही दाङ भर्नाका लागि ८० हजार छिमेकीबाट ऋण लिएको उहाँले सुनाउनु भयो । अहिले चौतफी सहयोग हुन थालेपछि मन हलुको भएको छ ।

चौतर्फी सहयोग जुट्दै  
अहिलेसम्म दस लाखसम्म सहयोग जुटिसकेको सत्यनारायणलाई जिल्ला उद्योग वाणिज्य सङ्घ सिराहा लहानका अध्यक्ष विकास शारडाले अध्ययन अवधिमा लाग्ने खर्च व्यवस्थापनका लागि प्रति महिना दस हजारको दरले दिइने लिखित घोषणा नै गर्नुभयो । अङ्ग्रेजी वर्ष २०२६ कै दिन जन्म दिनको अवसरमा पत्नी सीमा शारडा र जिल्ला उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष सुनिल महतोको उपस्थितामा सम्झौतापत्रमा हस्ताक्षर गर्दै सहयोगको प्रतिबद्धता जनाउनु भयो ।

ग्रिन एन्ड क्लिन फउन्डेसनका अभियानी आशिका तामाङगले एक लाख नगद सहयोग गरेपछि सहयोग गर्नेहरू दिनहुँ सत्यनारायणको घर पुगिरहेका छन् । बरियारपटि गाउँपालिकाले समेत एमबिबिएस पढ्न लाग्ने होस्टेल खर्च तिर्ने गाउँपालिका अध्यक्ष सन्तोषकुमार महतोले प्रतिबद्धता व्यक्त गरिसक्नु भएको छ ।