• १८ पुस २०८२, शुक्रबार

प्राविधिक धारको पढाइले सहज

blog

हुम्ला समाचारदाता

हुम्ला, पुस १८ गते । हुम्ला जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाको एउटा विद्यालयमा प्राविधिक धारको पठनपाठन भएसँगै विद्यार्थीलाई सहज भएको छ । 

आफ्नै गाउँमा बसेर चाहना अनुसार प्राविधिक धारको विषय अध्ययन गर्न पाएपछि आर्थिक तथा अन्य विषयमा पनि सहज भएको हो । शिक्षा तथा मानव संसाधन विभागको अनुमति लिएर ताँजाकोट गाउँपालिकाको जनप्रकाश माध्यमिक विद्यालयमा लागु भएको कृषितर्फको प्राविधिक धारको विषय पढ्ने चाहना भएका विद्यार्थीले सस्तो र सहज रूपमा अध्ययन गर्न पाएका सो विद्यालयको कृषिधारमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी अकिल बुढाले बताउनु भयो ।

यसअघि प्राविधिक धारको विषय नहुँदा सो गाउँपालिकामा कृषि पढ्ने विद्यार्थीको सङ्ख्या शून्य थियो । हाल अन्य विषय अध्ययन गर्ने विद्यार्थी जिल्लाबाहिर जाने भए पनि आर्थिक रूपमा कमजोर तर पढ्ने चाहना भएका विद्यार्थीलाई सहज भएको उहाँले बताउनु भयो । गाउँपालिकाको सहयोगमा विद्यार्थीलाई पठनपाठन पूर्ण रूपमा निःशुल्क गरेको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनुभयो । जिल्लाबाहिर गएर लाखौँ खर्च गर्नुभन्दा आफ्नै गाउँठाउँमा बसेर घरमा उत्पादन भएको अन्नबाली खाएर अध्ययन गर्ने व्यवस्थाले विद्यार्थीलाई सहज बनाएको उहाँले जनाउनु भयो । 

उहाँका अनुसार गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले विद्यालयबाट कृषिधारमा राम्रो स्थान ल्याउने विद्यार्थीलाई अवसर दिने नीतिसमेत लिएको छ । राम्रा विद्यार्थीलाई रोजगारीको अवसर पनि प्रदान गरिने भएको छ । यो धार लागु भएपछि विद्यालयले कक्षा ९ र १० मा पनि कृषि विषय अध्ययन गर्ने व्यवस्था गरेको विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद जैसीले बताउनु भयो । कृषिधार अध्ययन गर्ने टाढाका विद्यार्थीका लाागि आवासीय व्यवस्थासमेत गरिएको छ । विद्यार्थीलाई अभ्यास गर्नका लागि जग्गा भाडामा लिएर फलफूल तथा कृषि बाली लगाउने र अध्ययन गर्ने कार्यसमेत भइरहेको उहाँको भनाइ छ । उहाँका अनुसार यो शैक्षिक सत्रमा कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थी २७ जना, कक्षा १० मा १८ जना, कक्षा ११ मा २० जना र कक्षा १२ मा १३ जना छन् । कृषिधार लागु भएपछि पहिलो पटक कक्षा १२ उत्तीर्ण हुने ब्याच निक्लन लागेको छ ।